Websoft University

‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम

बिराटनगर, कार्तिक ११ गते । रातो तारा डट कम,
नेपाल प्रहरीले आज आइतबार देखि देशब्यापी रुपमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ गरेको छ। शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्नेका लागि प्रहरी, समुदाय, स्थानीय तह, सामाजिक संस्था र बिद्यालय बिचको सहकार्य र समन्वय स्थापना गरी साझेदारी निर्माण गर्ने उद्देश्यका साथ देशभर आजैबाट एक साथ उक्त कार्यक्रमको शुभारम्भ गरीएको हो ।

 नेपाल सरकार, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको आयोजना तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र स्थानीय तहहरुको संयोजनमा आज बिराटनगर महानगरपालिका-७ स्थित आदर्श माध्यमिक बिद्यालयको प्राङगणमा १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच गमलामा पानी हालेर विधिवत रुपमा शुभारम्भ गर्नु  भयो।

वहाँले ‘समुदाय-प्रहरी साझेदारी’कार्यक्रमको कम्प्युटरबाट PSA Click गरी कार्यक्रमको विधिवत रुपमा समुद्घाटन गर्नु हुँदै आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पुर्‍याउनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

वहाँले समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताउदै समुदाय-प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन यो समुदाय–प्रहरी साझेदारी  कार्यक्रमले जनताको मन जित्नेमा आफु बिश्वस्त रहेको बताउनु हुँदै यो कार्यक्रमको पूर्ण सफलताको लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री माननीय जिवन घिमिरेले शुभकामना मन्तब्य राख्नु हुँदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिनु भयो भने कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा प्रस्तुत गर्नु भएको थियो । वहाले सामुदायिक प्रहरी सेवा केन्द्रको माध्यमबाट सुरक्षा सचेतना अभिबृद्धी गर्ने तथा अपराध रोकथाम गर्ने लक्ष्यका साथ यो समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा तयार गरी कार्यान्वयन गर्न लागिएको बताउनु भयो ।
कार्यक्रममा नगपालिकाको तर्फबाट उर्लावारी नगरपालिका प्रमुख खड्ग बहादुर फागो तथा  गाउँपालिकाको तर्फबाट मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले ऐक्यबद्धता मन्तब्य राख्नु भएको थियो । वहाँहरुले ऐक्यबद्धता मन्तब्य राख्नु हुँदै स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन आफूहरुले जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा वहाँहरु लगायत मोरङ जिल्लाका रंगेली नगरपालिका, सुनवर्शी नगरपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका तथा बुढिगंगा गाउँपालिका र धनपालथान गाउँपालिकाका प्रमुखहरु र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शरद कुमार खत्रीले उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने उक्त कार्यक्रममा आन्तरीक मामिला तथा कानून सचिव गोपाल पराजुली, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश केसी, राष्ट्रिय अनुसन्धान बिभाग १ नं. प्रदेशका प्रमुख अनुसन्धान निर्देशक सुनिल ढकाल, मोरङ जिल्ला समन्वय समितिका उप-प्रमुख, बिभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्ष, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न नगरपालिका तथा गाउपालिका उप-प्रमुख तथा उपाध्यक्षहरु, वडाअध्यक्ष/सदस्य, सामुदायिक सेवा केन्द्रका पदाधीकारीहरु, क्याम्पस प्रमुखहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षक/ शिक्षिकाहरु, पुर्व प्रहरी कर्मचारीहरु, समाजसेवीहरु, महिला संजाल/आमा समुहहरु, स्थानीय सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ , ब्यापार संघका पदाधिकारीहरु, स्थानीय भद्र भलाद्मी तथा समाजसेवीहरु, कलाकार, स्थानीय युवा क्लवका पदाधिकारीहरु, बाल क्लवका पदाधिकारीहरु, बिद्यार्थी भाई बहिनीहरु, संचारकर्मी साथै अन्य सरोकारवाला संघ संस्थाका पदाधिकारी समेत गरी १ हजार ५ सय ५२ जनाको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.