Websoft University

बुटवलमा सडक मिचेर बनाइएका घर भत्काउन शुरु


बुटवल, वैशाख १३ गते । रातो तारा डट कम, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना हिजोदेखि पुनः भत्काउन थालिएको छ । सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो । आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएकोछ ।

यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन शुरु गरेको थियो । त्यतिबेला स्थानीयवासीले एक साताभित्र आफैँ घर भत्काउने प्रतिबद्धता जनाएपछि आयोजनाका कर्मचारी दुई÷तीनवटा घर सामान्य रुपमा भत्काएर फर्केका थिए । एक सातासम्म बाँकी घर भत्काउन घरघनीले शुरु नगरेपछि आज पुनः आयोजनाका कर्मचारी डोजर र सुरक्षकर्मीसहित सडक किनारका घर भत्काउन आएका हुन् ।

बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका ३११ घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाइएको सडक आयोजनाका इन्जिनियर गोविन्दकुमार श्रेष्ठले बताउनुभयो ।

बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक निर्माणाधीन अवस्थामा रहेकाले सोहीअनुसार बुटवल चौराहादेखि चिडियाखोलासम्मको मुख्य बजार क्षेत्रको सडक छ लेन बनाउन आयोजनाले काम थालेको हो । यो क्षेत्रमा ३११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । तीन वर्षअघिदेखि आग्रह गर्दै आएकामा अहिलेसम्म जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् ।

सडक आयोजनाका अनुसार ८२ फुट कायम हुने राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक हाल ७५ फुट रहेकामा अब ८२ फुट कायम हुनेछ । सडक विस्तार आयोजनामा ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दुवैतर्फ साढे १० मिटर चौडाइ भएको मुख्य लेन र त्यसभन्दा बाहिर छ÷छ मिटरको सर्भिस लेन हुनेछ ।

सडक विस्तार रु ४३ करोड २३ लाखमा द कन्चनजंगा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सडक विस्तारको काम ३० महिनामा सक्ने सम्झौता भएपनि घरधनीहरुको अवरोध, अदालतमा मुद्दा टुंगो नलाग्नु जस्ता कारणले करिब एक वर्ष ढिलो काम शुरु भएकाले समयभन्दा केही पछि जानसक्ने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.