विराटनगर, चैत २५ गते । रातो तारा डट कम,पण्डित स्वामी आचार्य श्रीनिवास माथी गोली प्रहार भएको छ । विराटनगर–१४, जतुवास्थित श्री राम जानकी मन्दिरमा आजदेखि हुने श्रीमद्भागवत पुराणमा कथा बाचन गर्न शनिवार आएका आचार्यमाथी राती २ बजे गोली प्रहार भएको हो ।
गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आचार्यको दाहिने पट्टिको माथिल्लो भागमा गोली लागेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
विराटनगर–१४, जतुवास्थित श्री राम जानकी मन्दिरमा आजदेखि हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन आचार्यको टोली शनिवार विराटनगर आएको थियो । आचार्यलाई आज बिहानको राती पौने २ बजे अज्ञात समुहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको एसपी बिसीले जानकारी दिए । उनले गोली प्रहार गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको बताए । गोली प्रहार भएको घटनास्थलमा चेतावनीयुक्त पर्चा भेटिएको छ ।
पर्चामा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ । श्रीनिवास आचार्य हिन्दूराज्य नेपालको स्थापनार्थ अभियान चलाउँदै आएका थिए ।
Post a Comment