उर्लाबारी, कार्तिक ३० गते । रातो तारा डट कम,
माओवादी नेता तथा मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले देशमा पाँच वर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गरेका छन् ।
बिहीबार मोरङको उर्लाबारी–४ को आदर्श टोल र छाता चौकको कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता कुशलले संविधानले जनतालाई दिएको अधिकार अब वाम गठबन्धनले पूरा गर्ने दाबी गरेका छन् । मुलुकको दिगो विकास र समृद्धि गठबन्धनको घोषणा पत्रमा उल्लेख भएकाले निर्वाचनपछि त्यसकै आधारमा अघि बढ्ने उनको भनाई छ ।
विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै उनले भने–‘वाम गठबन्धन केवल निर्वाचनका लागि मात्र नभई कम्युनिष्ट एकताका लागि भएको हो ।’ देशमा दीर्घकालीन विकास र राजनीतिक स्थिरताका लागि वाम एकता अपरिहार्य भएकाले निर्वाचनपछि एकताको प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।
आफ्नो क्षेत्र अन्तरगत पर्ने उर्लाबारी र मिक्लाजुङको गुरु योजना बनाएर पाँच बर्षमा कार्यपलट गर्ने योजना रहेको पनि उनले बताएका छन् । कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पौडल ‘विवेक’, नेकपा एमालेका सचिवालय सदस्य मानबहादुर श्रेष्ठलगायतले बोल्दै वाम गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।
बिहीबारै उर्लाबारी–४ का आधा दर्जन टोलहरुमा कोणसभा र भेटघाट कार्यक्रम भएका छन् । वामपन्थी शक्तिहरु एक हुनु पर्नेमा जोड दिँदै मतदाताहरुले गाउँको विकासलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
Post a Comment