Websoft University

च्यातिएका मतपत्र नहेरी चितवनबाट आयोगको टोलि फर्कियो


चितवन, जेठ १७ गते । रातो तारा डट कम,भरतपुर महानगरका मतगणनाका क्रममा च्यातिएका मतपत्रहरुको अवस्था नै नहेरी निर्वाचन आयोगले गठन गरेको अनुगमन टोली काठमाडौं फर्किएको छ ।

मतगणनास्थल कर्भडहलको च्यानल गेटबाट नै भित्रको अवस्था नियालेर आयोगको टोली राजधानी फर्किएको हो । कति मतपत्र च्यातिएका छन् ? तिनको अवस्था के छ ? गणना गरेका कति छन् ? गणना गर्न योग्य कति, अयोग्य कति भन्ने बारेमा जाँचबुझ नै नगरी प्रतिनिधीमूलक रुपमा विभिन्न सरोकारवाला पक्षका धारणा मात्रै बोकेर आयोगको टोली फिर्ता भएको छ ।

सोमबार दिउँसो भरतपुर आएको टोलीले सोमबार नै प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका पदाधिकारी, निर्वाचनमा खटिएका गणकहरुसँग घटनाका विषयमा जानकारी लिएको थियो ।

मंगलवार भने प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरुलाई बोलाएर घटनाका विषयमा जानकारी लिएको थियो । बिहान ८ बजेबाट मध्यान्न १२ बजेसम्म दलका प्रतिनिधीहरुसँग आयोगको छानविन टोलीले छुट्टाछुट्टै छलफल गरेको थियो ।

‘आयोगले हामीसँग राय मात्रै माग्यो । घटनाबारे जानकारी लियो’ एमालेबाट छलफलमा सहभागी भएका कानुनविद् जगन्नाथ भण्डारीले भने, ‘आयोगको टोलीले हाम्रो धारणा मात्रै लियो आफ्नो तर्फबाट केही कुरा गरेन ।’

सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वको अनुगमन समितिलाई बुधबार प्रतिबेदन दिन समय सीमा तोकिएको छ । संयोजक तिमल्सिनाले छानविनका लागि जिल्लामा आवश्यक सबै संयन्त्रसँग भेट गरी काम टुङग्याएको बताए ।

छानविन समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि यसबारे निर्वाचन आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिएको छ ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो।
निर्वाचन आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३ सदस्यीय अनुगमन टोली गठन गरेको थियो ।

समितिमा तिमल्सिनासहित गृहमन्त्रालय सहसचिव महेश न्यौपाने र एक प्रहरी नायव महानिरीक्षक छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.