
काठमाडौं,भैरहवा, फागुन २९ गते । रातो तारा डट कम-
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई अवरोध गर्ने घोषणासहित मधेसी मोर्चाले नवलपरासी र रुपन्देहीमा बन्द आह्वान गरेको छ । रुपन्देहीमा बन्दको प्रभाव नपरे पनि नवलपरासी सदरमुकाम परासी क्षेत्रमा आंशिक प्रभाव देखिएको छ ।


एमालेको अभियान आज नवलपरासीका कावासोतीबाट अघि बढ्दैछ । अभियान टोली राजमार्गका बिभिन्न स्थानमा जनताको बस्ति हुँदै भूमहीमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको एमालेका प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । भूमहीको एमाले सभालाई अवरोध गर्ने उद्देश्यले मोर्चा कार्यकर्ताले तयारी थालेका छन् ।
थारु, मधेसी बाहुल्य भूमहीमा एमालेले सभाको तयारी गरिरहँदा मोर्चा कार्यकर्ताहरु परासी क्षेत्रमा जम्मा भइरहेका छन् । बन्दको भने परासीमा आंशिक प्रभावमात्र देखिएको
छ । मोटरसाइकल र साना गाडीहरु चलिरहेका छन् ।
एमाले नेता तथा त्यस क्षेत्रका सांसद बैजनाथ चौधरीले मोर्चाको अवरोधले एमालेको अभियानमा कुनै प्रभाव नपर्ने बताएका छन् । सो क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । भूमहीबाट एमालेको अभियान मधेसी बस्ति हुँदै सुनवलबाट बुटवल हुँदै भैरहवा पुग्ने कार्यक्रम छ । भैरहवामा भने बन्दको कुनै प्रभाव देखिएको छैन ।
एमालेले आजै अपरान्ह भैरहवामा जनसभा गर्दैछ । भैरहवापछि बुटवल पुगेर एमाले नेताहरुको आजको बास तय भएको प्रचार बिभाग सचिव बिष्णु रिजालले जानकारी दिए । यसअघि एमालेले शनिवार ४ नम्बर प्रदेशको कावासोती र ३ नम्बर प्रदेशको नारायणी नदी तटमा वृहत शक्ति प्रदर्शन सहित सभा गरेको थियो ।
चितवन र कावासोतीको सभाको जनसहभागिताबाट एमालेको शीर्ष नेतृत्व उत्साहित देखिएको छ । शनिवार कावासोतीको सभामा ५० हजार भन्दा बढिको जनसहभागिता रहेको एमाले ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले बताए । सोही सभामा राप्रपा केन्द्रीय सदस्य अमरनाथ शर्मा सहित एमालेका प्रवेश गरेका थिए । त्यस्तै स्तै चितवनको नारायणी नदी तटमा पनि दशौ हजारको सहभागितामा एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
काँकडभिट्टाबाट शुरु भएको अभियान फागुन २३ गते सप्तरीको राजविराज पुग्दा मधेसी मोर्चाले अवरोध गरेको थियो । एमालेको अभियान सकिएर फर्किन लाग्दा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीबाट ४ जना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनापछि तीन दिन स्थगित भएको अभियान शुक्रवार हेटौंडाबाट पुनः अघि बढेको हो ।
Post a Comment