बिराटनगर, माघ २३ गते । २०७३, रातो तारा डट कम -
राजनीतिक दलका बैठकहरूमा निर्वाचनको विषयलाई
लिएर अन्योल भइरहेका बेला संसद्को ठूलो राजनीतिक
दल कांग्रेसले भने आफ्नो चुनावी अभियान सुरु गरेको छ । काठमाडौं कांग्रेस क्षेत्र नं। २ ले शनिबार पेप्सीकोलामा आयोजना गरेको सभामार्फत कांग्रेसले चुनावी अभियान सुरु भएको उद्घोष गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा माघ ७ भित्र तीनै तहका निर्वाचन हुने भन्दै निर्वाचनमुखी कार्यक्रम अघि बढाउन पार्टीका सबै निकायलाई आग्रह गरे ।
समारोहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, मन्त्रीहरू बालकृष्ण खाँड, प्रकाशशरण महत, गगन थापा, नवीन्द्रराज जोशी, जीवनकुमार शाहीलगायतका नेताहरूले कुनै पनि हालतमा स्थानीय निर्वाचन हुने भन्दै संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई लिएर एमालेले खेलेको भूमिकाप्रति कडा आलोचना गरेका थिए ।
कांग्रेस नेताहरूले एमालेलाई प्रमुख प्रतिस्पर्धीका रूपमा लिँदै उसका हरेक कदमको आलोचनामा समय खर्चेका थिए । राष्ट्रियताको नाममा विखण्डनको मनोवैज्ञानिक छाप एमाले अध्यक्ष ओलीले दिएको बताउँदै कांग्रेस नेताहरूले त्यसविरुद्ध पार्टीका मधेसी नेता तथा कार्यकर्ताहरू डटेर मैदानमा उत्रन आह्वान गरे ।
शनिबार मध्याह्न १२ बजेदेखि सुरु भएको सभा राति ९ बजेसम्म चलेको थियो । स्थानीय निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको सांस्कृतिक कार्यक्रम र प्रहसनसहितको सभामा सभापति देउवाले राति ८ बजे मात्रै सम्बोधन गरेका थिए । अधिकांश युवाहरू उपस्थित सभामा देउवाले देश गम्भीर मोडमा पुगेको जानकारी राख्न आग्रह गर्दै भने, ‘यो देश तपाईंहरूको जिम्मामा छ । यो बुझ्नुहोस् एक वर्षभित्र तीन तहको निर्वाचन हुन सकेन भने देश गम्भीर मोडमा पुग्छ । त्यसैले तीनै तहको निर्वाचन कांग्रेसले गराइछाड्छ, छाड्छ ।’
कांग्रेसले देशैभरि निर्वाचनमुखी अभियान थाल्ने तयारीसमेत थालेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कान्तिपुरसँगको छुट्टै कुराकानीमा पार्टीले देशभर निर्वाचनमुखी कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको बताए । उनले सम्भव भए स्थानीय तहको र नभएमा स्थानीय निकायकै भए पनि निर्वाचन हुने बताए । ‘निर्वाचन हुन सकेन भने संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका उपलब्धि गुम्छन्,’ पौडेलले भने, ‘कुनै पनि हालतमा निर्वाचन हुनैपर्छ । मधेसी मोर्चा मान्दै नमानेमा सरकारले आँट गरेर अघि बढ्नुपर्छ ।’
सभामा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले यो वा त्यो बहानामा निर्वाचन टार्न नसक्ने बताए । उनले पनि मधेसी मोर्चा नमाने पनि स्थानीय तह या निकायको निर्वाचनका लागि सरकारले तत्काल मिति तोक्नुपर्नेमा जोड दिए । ‘संविधान जारी गर्दा नै मन नपराउने केही राजनीतिक पार्टीहरू अहिले निर्वाचन नहोस् भन्ने पक्षमा छन् । निर्वाचन भएन भने मुलुक अप्ठ्यारो संंकटमा फस्छ,’ सिंहले भने, ‘भ्याएसम्म स्थानीय तह र नभए स्थानीय निकायकै निर्वाचन भए पनि गराइछाड्नुपर्छ । त्यो निर्वाचन कांग्रेसले गराइछाड्छ ।’
Post a Comment