काठमाडौं,पुस २७, गते । २०७३,रातो तारा डट कम -
नेपाल–चीन दुईपक्षीय संयन्त्रको बैठक आगामी फागुनको अन्तिम साता हुने भएको छ । सरकारले माघको सुरुमै बैठक बस्न प्रस्ताव गरेको भए पनि चीनले फागुनको अन्त्यतिर मात्र बैठक बस्ने जानकारी गराएको हो । नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई भेटेर उक्त जानकारी दिएकी हुन् ।
‘अर्को महिनासम्म हाम्रा नेताहरू चीनमा असाध्यै व्यस्त हुन्छन्। दुई महिनापछि मात्र दुईपक्षीय बैठक गर्न सम्भव होला,’ राजदूतको भनाइ उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले भने, ‘हामीले नेपालको एक चीन नीतिप्रतिको धारणाको सम्मान गरेका छौं । नेपाल चीनको प्राथमिकतामा छ ।’
चिनियाँ राजदूत युले दुई देशबीच सम्बन्ध सुमधुर रहेको र उच्चस्तरको भ्रमणका लागि पनि छलफलहरू भइरहेको महतलाई बताएकी थिइन् । मन्त्री महतले अवरुद्ध तातोपानी नाका पुनस् सुचारु गर्न आग्रह गर्दा राजदूत युले आफूले राजमार्गको स्थलगत अवलोकन गर्न लागेको समेत बताएकी थिइन् ।
भेटमा परराष्ट्रमन्त्री महतले भने केहीअघि चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभागका सचिव लिओ छिपाओ र मंगोलियाका मन्त्रीको भ्रमण एकै समयमा हुनु संयोग मात्रै भएको बताएका थिए । ‘एक चीन नीतिमा हामी दृढ छौं, नेपाली भूमि दुवै छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौं’ महतलाई उद्धृत गर्दै बैठकका एक सहभागीले बताए ।
मंगोलियाका मन्त्रीलाई बोलाएकोमा सांकेतिक असन्तुष्टि जनाउँदै छिपाओले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेट गरेका थिएनन् । उनले स्वास्थ्य राम्रो नभएकाले नभेटेको बताए पनि यसलाई असन्तुष्टिको कूटनीतिक सन्देशका रूपमा नेपाली नेताहरूले बुझेका थिए।
परराष्ट्रमन्त्रीको तत्काल चीन भ्रमणको विषयमा पनि छलफल अघि बढेको छ,’ चीनसमेत हेर्ने महाशाखाका एक अधिकारीले भने, ‘चिनियाँ यता आउन नभ्याउने भएपछि यो विषयमा समेत छलफल भएको हो ।
कान्तिपुर बाट
Post a Comment