भक्तपुर, मंसिर २३ – आफै काम गरेको एक चाईनिज रेष्टुरेष्टबाट ३५ लाख रुपैया चोरी गरेर फरार रहेका गिरोहलाई बिहीबार महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप लखनपुर गाविस वडा नम्बर ६ घरभई हाल मध्यपुरथिमि नगरपालिका–३ बस्ने १७ वर्षका तिर्थ थापामगर, २३ वर्षका चन्द्र थापामागर र २७ वर्षका टीका थापामगरलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमध्ये एकैघरका दाजुभाइ रहेको तिर्थ र चन्द्रले आफूहरु काम गर्दै आएको काठमाडाै महानगरपालिका–२९ ठमेलस्थित चाइनिज नागरिक यूविङ्ग थाङ्गले संचालन गर्दै आएको ज्यू दे स्याङ नामक रेष्टुरेष्टबाट भदौ २९ गते ३५ लाख रुपैयाँ चोरी गरी फरार रहेको प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिनुभयो ।
चोरी गरी फरार रहेका दाजुभाइलाई आश्रय दिने उनका काका छोरा टिकालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले निजहरुको कोठाबाट ४ लाख ६५ हजार रुपैयाँ बरामद गरेको छ भने उनीहरुले चोरीको रकमबाट खरिद गरेको बा ८० प ७३४१ नम्बरको मोटरसाइकल र चाँगुनाारयण नगरपालिका क्षेत्रमा खरिद गरेको चार आना जग्गाको लालपूर्जा नियन्त्रणमा लिएको छ । त्यस्तै चोरीएकै रकम मध्ये ५ लाख रुपैयाँबाट खरिद गरेको बालकोट स्थित वर्षा कोल्ड स्टोरमा प्रहरीले ताला लगाएको छ ।
थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि प्रहरी परिषर भक्तपुरले पक्राउ परेको तीन जना र नियन्त्रणमा लिएको नगद तथा अन्य सामाग्रीसहित महानगरीय प्रहरी
बृत्त सोह्रखुट्टेलाई बिहीबार नै पठाएको प्रसाईले जानकारी दिनुभयो ।
Post a Comment