Websoft University

अब दुई किलोमिटर लामो सुरुङ मार्ग निर्माण हुने




काठमाडौं,भाद्र १६,गते । जापानले राजधानी जोड्ने प्रमुख नाकाको झ्याप्ले खोला–थानकोटमा करिब साढे दुई किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्न १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ समारोहमा भाग लिन तीनदिने औपचारिक भ्रमणमा काठमाडौं रहेका विदेश राज्यमन्त्रीले नोबु किसीले प्रधानमन्त्री पुष्पकमल दाहालसित भएको भेटमा उक्त परियोजना निर्माणमा सहयोग गर्ने जनाएका हुन् ।


हिजो सिंहदरबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले प्रस्ताव गरेलगत्तै राज्यमन्त्री नोबुले सुरुङमार्ग निर्माणका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसको प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । नेपाल सरकारले उक्त सुरुङमार्ग निर्माणमा जापानसित अनुदान सहयोग खोजेको थियो । तर जापानले ०.५ प्रतिशत ब्याजको सहुलियतपूर्ण ऋण सहयोगमा सुरुङमार्ग निर्माण गरिदिने भएकोहो ।


काठमाडौं–नौबिसेको ट्राफिक जाम घटाउन र घुम्तीको दूरी घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापानी सहयोग एजेन्सी (जाइका) को सहयोगमा सुरुङमार्ग निर्माण गर्न अध्ययन अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीका अनुसार सुरुङ मार्गको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न अझै डेढ वर्ष लाग्छ । २.३५ किमि लामो दुई लेनको सुरुङमार्ग निर्माण गर्न साढे तीन वर्ष लाग्ने अनुमान छ । यसमा १८ अर्ब रुपैयाको लागत अनुमान गरिएको छ । काठमाडौं र धादिङ जिल्लाको सीमा पिपलामोड नजिक पर्ने झ्याप्ले खोला हुँदै थानकोटसम्म सुरुङमार्ग निर्माणपछि राजधानी प्रवेश गर्ने मुख्य सडकको दूरी साढे ४ किमि


छोट्टिनेछ । जापानले नुवाकोट जोड्ने अर्को सुरुङमार्गबारे पनि अध्ययन गरिरहेको छ ।यातायातलाई सहज बनाउन मुख्य नाका काठमाडौंको थानकोटदेखि धादिङको झ्याप्ले खोला जोड्ने सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउन सरकारले १ अर्ब ६६ करोड रुपैयाँ बजेटमा समेत छुट्याएको छ । जापान सरकारले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वर्षगाँठका अवसरमा भन्दै नेपाललाई एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग घोषणा गरेको छ । त्यसका लागि हवाई सुरक्षा र विद्यालय निर्माणसम्बन्धी दुई परियोजना कार्यान्वयन गर्न अर्थ मन्त्रालयमा सम्झौतासमेत भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र जापानका विदेश राज्यमन्त्री नोबुको उपस्थितिमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


त्रिभुवन अन्तर्राष्ट्रियसहित आठ विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ । अर्थ मन्त्रालयमै भएको अर्को सम्झौताअनुसार जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न ३१ करोड ३० लाख अनुदान उपलब्ध गराउने भएको छ । उक्त सम्झौतामा जाइकाका प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरेका छन् ।


जापानी विदेश राज्यमन्त्रीले नेपाललाई दिइने सहयोगमा कमी नहुने बताएका छन् । उनले नेपाल–जापान मित्रताका रूपमा रहेको पछिल्लो परियोजना बनेपा–बर्दिबास सडकलाई उदाहरण दिँदै यस्तै पूर्वाधार परियोजनामा जोड दिने बताए । जापानी राजदूतले उत्तर–दक्षिण जोड्ने सडकका रूपमा त्यसलाई व्याख्या गर्दै अझ फराकिलो सडक परियोजनामा जापानले सघाउन सक्ने जनाएका छन् । जापानले उत्तरी हिमालदेखि तराई जोड्ने सडक पूर्वाधारमा जोड दिने उनको भनाइ थियो ।


जापानका विदेश राज्यमन्त्री नोबु किसीले संविधान जारी भएपछि नेपाल शान्ति र विकासको बाटोमा अघि बढेको हेर्ने चाहना जापानको रहेको बताए । नेपालको तीनदिने भ्रमणका लागि बुधबार राति काठमाडौं ओर्लेका उनले प्रधानमन्त्री पुष्पमकल दाहाल, उपप्रधान तथा अर्थमन्त्री महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत लगायतसँगको छुट्टाछुट्टै भेटमा यस्तो धारणा व्यक्त गरेका हुन् ।


नेपालले संविधान घोषणा गरेर यहाँसम्म आएकोमा बधाई दिँदै उनले भने, ‘संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनर्निर्माण र समृद्धिका लागि सरकारले अघि बढाएको योजनामा जापानको साथ र सहयोग रहनेछ ।’ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दु:खसुखमा साथ दिएको जनाउँदै सम्बन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन आफूहरू प्रयत्नशील रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन दिशामा अघि बढेकाले आगामी दिनमा पनि जापानको निरन्तर सहयोग र सद्भाव रहने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री महतले जापानी विदेश राज्यमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गरेका थिए । आज नेपाल सरकारले नेपाल–जापान सम्बन्धको ६० औं वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमसमेत आयोजना गर्दैछ ।

२०७३/०५/१६ गते,




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.