Websoft University

चिनियाँ राष्ट्रपति नेपाल आउने कुरा सुनेर नेपाली जनता यस बेला धेरै खुसी भएका छन् ।

बिराटनगर, साउन २६ गते । चीनको सरकारी थिंक ट्यांक टोली प्रमुख जी झेईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी असोजमा हुने नेपाल भ्रमणको तयारीकै लागि आफूहरू नेपाल आएको बताएका छन् ।
बंगलादेश र भारत भ्रमणपछि नेपाल आएको चिनियाँ टोलीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै समयमा भेटेर आगामी असोजमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने जानकारी गराएको हो । 
चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेई नेतृत्वको टोलीले अरू दलका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको कुरा बताएकाछन्। सीआईसीआईआर अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक विषयमा अध्ययन गर्ने चीन सरकारको यो महत्त्वपूर्ण संस्था हो । सोमबार साँझ काठमाडौं आएको चिनियाँ टोली राजनीतिक भेटघाटमा व्यस्त छ ।
‘यहाँहरू (नेपाल सरकार र प्रमुख नेपाली दलहरू) को चाहनाअनुसार यो वर्ष चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आशंका छैन,’ चिनियाँ टोलीका नेताले प्रधानमन्त्री दाहाललाई भनेको भनाइ स्रोतले उद्धृत गर्‍यो । ‘नेपाल चीनको उच्च प्राथमिकतामा छ । यो उच्च भ्रमण नेपाल–चीन सम्बन्ध विस्तारका लागि धेरै महत्त्वपूर्ण छ,’ जीले भनेका थिए, ‘हामी त्यसैको तयारीका लागि काठमाडौं आएका हौं । नेपाल र चीनले यो उच्च भ्रमण सफल पार्न आवश्यक छ ।’
प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले आफ्नो सरकार र नेपाली दलहरू चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुररहेकोबताए। भारतको पर्यटकीय सहर गोवामा आगामी असोज २८ र २९ मा हुने ब्रिक्स (ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिका) को आठौं सम्मेलनमा सहभागी हुन जाने अवसर पारेर चिनियाँ राष्ट्रपति नेपाल आउन लागेको कुरा सुनेर नेपाली जनताहरू यसबेला धेरै खुसि भएका छन् ।
सरकार परिवर्तनपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्दैनन् कि भन्ने आशंका चिनियाँ टोली प्रमुखको अभिव्यक्तिले हटाइदिएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए । टोलीका अनुसार राष्ट्रपति सीले नेपाल, बंगलादेश र भारतको यात्रा एकैसाथ गर्नेछन् । दक्षिण एसियाका तीन मुलुक भ्रमण गर्ने क्रममा उनी पहिला नेपाल आएमा असोज २६ मा काठमाडौं ओर्लनेछन् । फर्कने क्रममा भए असोज ३० मा आउने जानकारी बेइजिङस्थित नेपाली कूटनीतिज्ञले दिए । तर, चीनले सुरक्षाको कारण देखाउँदै भ्रमण कार्यक्रम भने सार्वजनिक गरेको छैन ।
सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति ज्याङ जेमिनले नेपाल भ्रमण गरेका थिए । सन् १९९६ पछि पहिलो पटक हुन लागेको चीनका राष्ट्रपतिको भ्रमणलाई नेपालले ठूलो महत्त्व दिँदै आएको छ । सन् २०१२ मा चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले पाँच घण्टा नेपाल भ्रमण गरेका थिए । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपतिको भ्रमण कम्तीमा दुईदिने बनाउन कूटनीतिक लबिङ थालेको छ ।
प्रधानमन्त्री दाहाल भेटेलगत्तै टोलीले एमाले अध्यक्ष ओलीलाई धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा भेटेको थियो । करिब एक घण्टाको भेटघाटमा ओलीले आफ्नो नेतृत्वको सरकारका बेलामा भएका सम्झौताको प्रसंग उठाउँदै कार्यान्वयनमा जोड दिएका थिए । उनले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्दै अघि बढ्नुपर्ने धारणा राखेको जानकारी भेटमा संलग्न एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालले बताए । ओलीले चार महिनाअघि गरेको चीन भ्रमणका क्रममा पारवहन सम्झौतासँगै रेलमार्गलगायत यातायात र अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो । भ्रमणका क्रममा चीनले नेपालमा पेट्रोलियम उत्खनन गर्ने र पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्ने सहमतिसमेत भएको थियो । त्यसबेला चीन–नेपाल संयुक्त वक्तव्यमा परेका र सहमति भएका विषय राष्ट्रपतिको भ्रमणका क्रममा सम्झौता हुने सम्भावना रहेको परराष्ट्र अधिकारीहरूले बताएका छन् ।
थिंक ट्यांक टोलीले कांग्रेस सभापति देउवासितको भेटमा पनि नेपालका प्रमुख दलहरूको चाहनालाई सम्मान गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमण हुने जानकारी गराए । प्रत्युत्तरमा देउवाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल सरकार, जनता, दलहरू आतुर रहेको बताएका थिए । टोलीले देउवासँग चीनसित भएका सहमति र सम्झौता कार्यान्वयनको विषयमा समेत छलफल गरेको थियो ।
टोलीले देउवाको चीन भ्रमणलाई चिनियाँ कम्युनिस्ट पार्टीले महत्त्व दिने बताएका थिए । भेटघाट एक घण्टाभन्दा लामो भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीले देउवालाई यसअघि नै चीन भ्रमणको निम्तो दिइसकेको छ । देउवाले टोलीसँगको भेटमा आफू चीन भ्रमणमा जान उत्साही रहे पनि केही समय लाग्न सक्ने कुरा टोलीलाई बताएकाछन्। सो -अनलाइनबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.