Websoft University

पत्रकार महासंघमा पनि चर्कियो त्रिपाल काण्ड


काठमाडौं ,असार २६, गते।  महाभूकम्पपछि वितरण गर्न त्रिपाल खरिद गर्दा अनियमितता भएको भन्दै नेपाल पत्रकार महासंघभित्र विवाद चर्किएको छ । त्रिपालको हिसाबकिताबमा पदाधिकारीबीच झगडा भइरहेका बेला चितवनको सौराहामा भएको साधारणसभामा पार्षदहरूलाई बाँडिएको झोलामा समेत हिनामिना भएको देखिएको छ ।

त्रिपाल काण्ड र झोला खरिद दुवै गरी आठ लाख रुपैयाँँको खर्च विवरण बुझाउन नेपाल प्रेस काउन्सिलले महासंघलाई पटकपटक ताकेता गरेको छ । तर, महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले विवरण बुझाउन नसकेपछि आर्थिक अनियमितताको विवाद छताछुल्ल भएको हो ।
यी दुवै शीर्षकका लागि महासंघलाई काउन्सिलको कोषबाट आठ लाख रुपैयाँँ दिइएको थियो । काउन्सिलले ताकेता गरेपछि महासंघ अध्यक्ष महेन्द्र विष्टले चाँडो विवरण उपलब्ध गराउनुपर्ने तर्क राखेका थिए । गौतमले अस्वीकार गरेपछि अध्यक्ष, महासचिव र कोषाध्यक्षबीच यो विषयमा भनाभन नै भएको महासंघका एक केन्द्रीय पदाधिकारीले जानकारी दिए ।
‘अध्यक्ष र कोषाध्यक्षबीच त बोलचाल नै राम्रो छैन’, ती पदाधिकारीले भने । संयोग के भने वाम पत्रकारको गठबन्धनमा महासंघ पुगेका अघिल्लो कार्यसमितिका कोषाध्यक्ष शीतल साहका कारण सिर्जना भएको आठ लाख रुपैयाँँकै विवादले पदाधिकारीबीच बोलचाल नै रोकिएको थियो । त्यतिबेला उक्त प्रकरण मिलाउन प्रेस चौतारी र क्रान्तिकारी पत्रकारलाई महाभारत नै परेको थियो । अहिले फेरि त्योभन्दा गम्भीर विषयमा उठेको रकम हिनामिनाको प्रश्न एमाले पार्टीको प्रचार विभागसम्म पुगेको छ ।
भूकम्पपछि अति प्रभावित १४ जिल्लाका पीडित पत्रकारलाई त्रिपाल बाँडनका लागि काउन्सिलले पैसा उपलब्ध गराएको थियो । महासंघ अध्यक्ष विष्टले त्यसको सबै जिम्मेवारी कोषाध्यक्ष गौतमलाई दिएका थिए ।
तर, कोषाध्यक्षले उक्त रकम बराबरको त्रिपाल खरिद नगरेको, कहाँ कति संख्यामा खरिद भएको र त्यसलाई कुनकुन जिल्लामा वितरण गरिएको भन्ने तथ्यांक नराखेको, भएका त्रिपाल पनि आफूखुसी वितरण भएको विषय उतिबेला महासंघको पदाधिकारी बैठकमा उठेको थियो । त्यस्तो प्रश्न उठेपछि गौतमले हिसाब मिलान गर्दैछु भनी टार्दै आएका थिए ।
यही बीचमा गत वैशाखमा महासंघको केन्द्रीय साधारणसभा चितवनको सौराहामा सम्पन्न भएको थियो । त्यहाँ पत्रकार पार्षदहरूलाई दिइने झोलाका लागि पनि काउन्सिलले चार लाख रुपैयाँँ प्रदान गरेको थियो । तर, झोला सबै पार्षदहरूलाई उपलब्ध भएन । झोला र कोषाध्यक्षका अन्य गलत कामबारे पार्षदहरूले प्रश्न उठाएपछि गौतम राति नै बिरामी भएका थिए । उनको मुटुको धड्कन बढेपछि कार्यक्रमस्थलमै एम्बुलेन्स बोलाई उपचार गर्नुपरेको थियो ।
पछिल्लो भ्रष्टाचारबारे पत्रकारका गुनासा महासंघको केन्द्रीय नेतृत्व र काउन्सिलसम्म पुग्यो । धेरै गुनासो आएपछि काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले त्रिपाल र झोला दुवैको हिसाबकिताब चुस्तदुरुस्त बुझाउन आग्रह गरेका थिए । काउन्सिलमा आफूले हिसाब देखाउनुपर्ने भन्दै कार्कीले महासंघमा ताकेता गरेका थिए । गौतमले भने त्यसलाई ठाडै अस्वीकार गरी ‘म महासंघको कोषाध्यक्ष हो, काउन्सिलको होइन’ भन्ने जवाफ फर्काएका थिए ।
महासंघ महासचिव उजिर मगरले भने काउन्सिलको पैसा लिएर त्यस्तो जवाफ फर्काउन नहुने भन्दै पदाधिकारी बैठकमा गौतमको आलोचना गरेका थिए । ‘हामी मनाउँदैछौं । हिसाबकिताब दुरुस्त हुनैपर्छ । कसैले फट्याइ गरेको भए कारबाही हुन्छ’, मगरले कार्कीलाई यसो भनेपछि यो काण्ड केही दिनलाई सेलाएको ती पदाधिकारीले बताए ।
महासंघका अध्यक्ष, महासचिव र कोषाध्यक्षबीच समन्वय नहुँदा नियमित गतिविधिहरू नै प्रभावित भएका छन् । अर्को चुनाव नजिकिँदै गएको बेला पदाधिकारीबीच भएको मनमुटाब, भ्रष्टाचारले महासंघको अस्तित्वमै प्रश्न उठाएको छ । ‘यतिसम्मकि अध्यक्ष, महासचिव र कोषाध्यक्ष कुन कार्यक्रममा गएका हुन्छन् भन्ने कसैलाई पत्तो हुन्न । तीनैजनाको भेट एकैचोटी कार्यक्रममै हुन्छ’, महासंघका अर्का एक सदस्यले अहिलेको बेथेतिबारे सुनाए ।
बिरामी पत्रकारलाई उपचार खर्च दिँदा, पुरस्कार, सम्मान दिँदा, तालिम र गोष्ठीमा पत्रकार पठाउँदा कोषाध्यक्षले आफ्नो व्यक्तिगत सम्बन्ध भएकालाई मात्र प्राथमिकता दिएको, ती सबैलाई आउने महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेको विषयमा महासचिव मगरले पटकपटक आपत्ति जनाएका छन् । उनले यसबारे आफ्नो संगठन प्रेस सेन्टरका संयोजक गोविन्द आचार्यलाई समेत जानकारी गराएका छन् । पछिल्लो भ्रष्टाचारको विषयलाई भने गुपचुप रूपमा राख्नुलाई रहस्यमय ढंगले हेरिएको छ ।
सुर्खेतमा यमलाल कँडेलमार्फत वामदेव गौतमबाट दबाब दिन लगाएर र गुल्मीका एमाले नेता प्रदीप ज्ञवालीका भान्जा साइनो जोडी गत चुनावमा उनले कोषाध्यक्षको टिकट फुत्काएका थिए । तर, ज्ञवालीको नाममात्र भजाउने गरेको, नजिकको नाता भने नपर्ने गुल्मीकै पत्रकारहरू सुनाउछन् ।
त्यतिमात्र नभै आफूले महासंघमा आउन ठूलै रकम खर्च गरेकाले यस्ता विवादले आफूलाई केही फरक नपर्ने गफसमेत गौतमले आफ्नो गृहजिल्ला सुर्खेतका स्थानीय पत्रकारहरूलाई सुनाएका थिए । ‘पहिले पनि चौतारीका नेताहरूलाई मैले ४, ५ झाप्पु लगाएको थिए ।
फेरि पनि त्यही गर्ने हो । ढुक्क भए हुन्छ साथी हो, सुर्खेत पुगेका बेला उनले स्थानीय पत्रकारहरूलाई सुनाएका थिए ,देशान्तरले खबर छापेको छ  । झाप्पु लगाएको भन्ने सुरुमा पत्रकारहरूले बुझेनन् । पछि कुरैकुरामा उनले एक झाप्पु बराबर एक लाख रुपैयाँ रहेको प्रष्टाएपछि विचरा स्थानीय पत्रकारहरू छक्क परेका थिए ।
- न्यूज अभियानबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.