Websoft University

सात स्रष्टालाई लूनकरणदास गंगादेवी सम्मान



काठमाडौं ,वैशाख २९ गते । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले कला, साहित्य, अनुसन्धान र विज्ञान क्षेत्रमा योगदान पुर्‍याउने सात जनालाई सम्मान गरेको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले स्रष्टालाई सम्मान गरेका हुन ।

मन्दिरले समाजसेवा, साहित्य र प्राध्यापनको माध्यमले नेपाली समाज र शिक्षा क्षेत्रमा योगदान पुर्‍याएबापत अंगुरबाबा जोशीलाई गंगादेवी चौधरी स्मृतिसम्मान प्रदान गर्‍यो ।


एक लाख रुपैयाँसहितको सम्मान ग्रहण गरेपछि सम्मानस्वरूप आफूले पाएको नगद सबै समाजसेवामा खर्च गर्ने बताइन् । आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पण गरेको बताउँदै सम्मान ग्रहणपछि आफूलाई अझ सक्रिय हुने प्रेरणा मिलेको उनले बताइन् ।

यस्तै नेपाली आख्यान तथा पत्रकारितामा योगदान पुर्‍याएबापत साहित्यकार मदनमणि दीक्षितलाई सरस्वती सम्मान, इतिहास र संस्कृतिको क्षेत्रमा गम्भीर र शोधमूलक कृतिले योगदान गरेबापत डा. जगमान गुरुङलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, आधुनिक संगीतको क्षेत्रमा गायन र संगीत सिर्जनामार्फत योगदान पुर्‍याबापत शान्ति ठटाललाई नारायणगोपाल संगीत सम्मानबाट सम्मानित गरियो ।

चित्रकलामार्फत ललितकला क्षेत्रलाई योगदान पुर्‍याएबापत दुर्गा बराललाई अरनिको ललितकला सम्मान, नाटक लेखन, निर्देशन र अभिनयबाट रंगमञ्च क्षेत्रलाई योगदान पुर्‍याएबापत प्रचण्ड मल्ललाई बालकृष्ण सम रंगसम्मान र जीवविज्ञानमा विद्यावारिधि गरी एक दशकदेखि विज्ञानको क्षेत्रमा योगदान पुर्‍याएबापत डा. बबिता पौडेल भट्टराईलाई नेपाल नवप्रतिभा सम्मान प्रदान गरियो । यी सम्मान ५१ हजार नगदसहितका छन् ।

सम्मान प्रदान गर्दै राष्ट्रकवि घिमिरेले वसन्त चौधरीको नेतृत्वमा रहेको मन्दिरले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउँदै विश्वभर नेपाली साहित्यको वसन्त ऋतु सिर्जना गरेको बताए । सम्मानित व्यक्तित्व आआफ्नो क्षेत्रमा योग्य र दक्ष रहेकाले त्यस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य भएको उनले बताए । उनले सबै सम्मानित व्यक्तित्वको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मन्दिरका अध्यक्ष वसन्त चौधरीले मन्दिरले सम्मान सुरु गरेको २२ वर्षको समयमा राजनीति, समाज, साहित्य, कला र संस्कृतिको क्षेत्रमा धेरै परिवर्तत, उन्नति र प्रगति भएको बताए । गत वर्ष साहित्यकला मन्दिर कम सक्रिय रहे पनि यो वर्ष सिर्जनशील हुने उनले बताए ।‘हामीले सारा देश दुखिरहेको बेला कुनै उत्सव गर्नु आफैंमा विरोधाभाष ठान्यौं’, उनले भने, ‘यो वर्ष हाम्रो लागि सिर्जनशील वर्ष हुनेमा कुनै द्विविधा र आशंका छैन । यसका लागि हामी प्रण गर्छौं ।’ - अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.