Websoft University
Latest Post


विराटनगर सउन २२ गते । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई 'क्रेडिट आवर'को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि अनुसारको डिग्री समेत प्राप्त गर्ने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

विश्वस्तरीय शिक्षा दिँदै सोहि अनुरुपका जनशक्ति उत्पादन गर्नका लागि केयूसँगको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास ब्यक्त गर्दै उहाँले केयूले शिक्षक तथा विद्यार्थीहरुको स्तर र मागका सम्बन्धमा त्यस्तै अभिभावकहरुको चाहना र विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्भेक्षण गर्ने छ । त्यसपछि आवश्यकता आधारमा सोहि अनुसारको तालिम प्रदान गर्ने एभरेष्टले जनाएको छ ।

समझदारी पत्रमा आज एभरेष्टका तर्फबाट प्रिन्सिपल पुरी र केयुका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुईटेलले हस्ताक्षर गर्नुभएको छ । एभरेष्टको शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने मान्यताका साथ यस विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्रका संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

कम्प्यूटर शिक्षाका लागि बेलायतको कोर्ष डिजी स्कुल, आविश्कार तथा अन्वेषणका लागि कारखाना, विद्यार्थीलाई खुसी राख्न ह्याप्पीनेस करिकुलम, माई सेकेण्ड टिचर, रातो बंगला फाउन्डेसनलगायतका संस्थाहरुसँग सहकार्य गर्दै सफल भएका अभ्यासहरूलाई अवलम्बन गर्दै आएको छ ।

केयूसँगको समझदारीसँगै विद्यालयका करिब ६० जना शिक्षकहरुको अध्यापन क्षमतामा थप विकास हुने र उहाँहरुले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्रिन्सिपल पुरीले बताउनुभयो । एभरेष्टले शैक्षिक वातावरणसँगै भौतिक संरचनाहरु समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लगेको छ ।


विराटनगर साउन २१  गते । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताउनुभएको छ ।

कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उहाँले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको उहाँले बताउनुभयो ।

उहाँले विश्वभरका राष्ट्रहरुलाई मित्रवत अवस्थामा राख्दै सबैबिच सहकार्यको भूमिका निर्वाह गराउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा विश्वलाई केन्द्रित भएर साझा समस्याको विषयमा छलफल गरि समाधानको उपाय खोजिने समेत चर्चा गर्नुभयो ।

आज विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको कोशी प्रदेशका युवा विद्यार्थीले उठान गर्ने विषय र दिने सुझावले विश्वको ध्यान खिचोस भन्ने शुभकामना समेत दिनुभयो । उहाँले अहिले भइरहेको शक्ति राष्ट्रहरु बिचको प्रतिष्पर्धा, दुई शक्ति राष्ट्रबिचको नेपालको अवस्था, जलवायु परिवर्तन, मानव अधिकारका क्षेत्रका सवालमा यस अभ्यासमा घनिभूत छलफल गरि सांकेतिक रुपमा नै भएपनि महत्वपूर्ण सुझाव दिन सकोस् भन्ने कामना गर्नुभयो ।

यो सँगै विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा आज देखि संयुक्त राष्ट्रसंघको महासभाको तीन दिने नमूना अभ्यास शुरु भएको छ । यस्तै उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका विद्यालयका प्रीन्सीपल टिकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्बन्ध, नियमहरुका विषयमा जानकार बनाउने लगायतका उद्देश्य रहेको बताउनुभयो ।

ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको तीन दिवसीय कार्यक्रममा आज पहिलो दिन संयुक्त राष्ट्रसंघको महासभामा पालना गर्नुपर्ने नियम तथा आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको छ । नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका ३३ जना विद्यार्थीहरु विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि छन् ।

उनीहरुले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवर्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेण्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।


बिराटनगर साउन २१ गते | मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । 

उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ । 

कानेपोखरी ६ का रोमन पराजुली समेत ४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश सरकार, कानेपोखरी गाउँपालिका, गाउँपालिका कार्यपालिकाको कार्यालय, पालिका अध्यक्ष राजमती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध कानेपोखरी ६ रमाइलोका रोमन पराजुलीसमेत चार जनाले सर्वोच्च अदालतमा २०८१ फागुन १३ गते मुद्दा दर्ता गरेका थिए । 

सो मुद्दामा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशले २०८१ फागुन १५ गते कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा छलफललाई निरन्तरता दिएका थिए । यस्तै २०८१ चैत २० गते न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलाशले अन्तरिम आदेश जारी नहुने र रिट निवेदनलाई अग्राधिकार दिने आदेश गर्यो ।

कानेपोखरी गाउँपालिकाको गाउँसभाले २०८० वैशाख १७ गते कानेपोखरी ६ स्थित रमाइलो बजारमा रहेको प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो । भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गरेका थिए । जसमा भवन सार्ने पक्षमा २७ र भवन हाल रहेको स्थानमा यथावत राख्ने पक्षमा ७ जनाले मतदान गरेका थिए । केन्द्र स्थापनाको लागि भौंसाबारीमा पालिकाले १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो ।

सोही निर्णयको आधारमा २०८० माघ २९ गते कोशी प्रदेश सरकारले प्रशासकीय भवन सार्ने पालिकाको निर्णयलाई स्वीकृत गर्दै संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय सरकारले २०८१ पुस १६ गते सो निर्णयको अनुमोदन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा निवेदन परेको थियो । 

गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरद्धमा एमाले मोरङका तत्कालिन जिल्ला सदस्य नविन पौडेलको नेतृत्वमा संघर्ष समिति नै बनेको थियो । कार्यपालिकामा एमालेकै बहुमत पक्षले केन्द्र सार्ने निर्णय गरेपछि भने पौडेललगायत २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका थिए । यसरी राजीनामा दिनेमा गाउँ कमिटी सचिवालय सदस्य तथा ६ नम्बरका वडाध्यक्ष खड्गबहादुर बस्नेत, नेताहरु डिल्ली फुयाँल, अशोक फुयाँललगायत थिए ।

त्यसबेला पौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध संघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयको अधीनमा नआएसम्म पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यबाट राजीनामा दिएको बताएका थिए । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.