Websoft University
Latest Post


विराटनगर, २१ असोज | नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । 

माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ‘बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकोले राहत, पुनःस्र्थापना र पुनःनिर्माण सरकारको नियमित बजेटबाट संभव हुने नदेखिएकोले संघीय सरकार, विकास साझेदार दातृ निकायहरु तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउनेगरि ‘राहत एवं पुनःनिर्माण कोष’ स्थापना गरियोस्,’ उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । रा

यस्तै उनले वेपत्ताहरुको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दसैँअघि नै राहत दिन माग पनि गरेका छन् । दलको प्रमुख सचेतक गीता तिम्सिना र सचेतक सपना परियारसहित पुगेको टोलीले बाढीबाट विस्थापित भएर घरवारबिहीन भएका र घरमा क्षति पुगेका नागरिकको लागि तत्काल बसोबासको व्यवस्थापन गर्न पनि माग गरेको छ । 

विपद्का कारण आम नागरिक, किसान, साना व्यवसायी, जलविद्युतलगायत बिभिन्न आयोजनाहरुमा भएको क्षति मूल्यांकन गरी उचित क्षतिपूर्तिको लागि प्रदेश सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताउँदै आङबोले बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सडक, पुल पुलेसाको मर्मत कार्यमा तीब्रता दिँदै तत्काल सञ्चालन हुन नसक्ने स्थानमा वैकल्पिक बाटो प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् । 

ज्ञापनपत्रमा विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारीमा सरकार चुकेको भन्दै विषम परिस्थितिमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको उल्लेख छ । ‘विपत् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता नदेखिनु दुःखद् अवस्था हो । 

जसले गर्दा जनस्तरबाट आलोचना र आक्रोश बढेको देखिन्छ,’ उक्त पत्रमा भनिएको छ । ज्ञापनपत्रमा सरकारले यो घटनाबाट पाठ लिएर तत्कालिन तथा दीर्घकालिनरुपमा विपत् व्यवस्थापनका लागि काम गर्नुपर्नेमा जोड दिइएको छ । 


झापा, असोज २१ गते  । सुरेन्द्र भण्डारी- चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाई गरिएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बजार सरसफाई गरिएको हो ।

राष्ट्रिय सभा सदस्य गोपाल कुमार वस्नेतको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित वानस्टप मल अगाडि सरसफाई कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सरसफाई कार्यक्रममा अरिदमन गण चारआलीका नेपाली सेना,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी, नागरिक समाजका अगुवा, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बजार सरसफाई गरेका थिए । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु समेत सरसफाई कार्यक्रममा सहभागी थिए ।  

सरसफाई कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षण गणेश पौडेल लगायत सहभागी थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विशाल थापाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।


विराटनगर |  विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ ।

आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताउनुभयो । ‘सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उहाँले भन्नुभयो, ‘अझ राजनैतिक दलका नेताहरुसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’

जनतामा सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताउनुभयो । उहाँले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गर्नुभयो । पराजुलीले बचतकर्ताहरुबाट संकलित रकम सञ्चालकहरुले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी संकटमा गएको बताउनुभयो ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताउनुभयो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सहकारीको पुँजी सही ठाउँमा लगानी गर्ने र गलत व्यक्तिको हातमा जान नदिने हो भने समस्या नआउने उहाँको भनाइ थियो । सो अवसरमा जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवि तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको औंल्याउनुभयो ।

महानगर क्षेत्रभित्र सञ्चालित १७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ११६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिष्ट्रार सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । सहकारी शाखाकी कार्कीका अनअुसार महानगरका सबै सहकारीका अध्यक्ष र व्यवस्थापकलाई तीन चरणमा प्रशिक्षण दिइनेछ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.