विराटनगर असार १ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो ।
गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ मा सहभागी भइ जिग्सन तामाङले गोल्ड मेडल प्राप्त गर्नुभएको थियो । कक्षा ७ मा अध्ययनरत तामाङले ब्वाइज तर्फ ५० मिटर फ्री स्टाइल ९एल।सी० मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल्ड मेडल प्राप्त गर्नुभएको थियो ।
उहाँलाई विद्यालयले नगद १० हजारसहित सम्मान गरेको हो । उहाँले ५० मिटर दुरी ००।३२।७६ मिनेटमा पुरा गर्नुभएको थियो । यस्तै एभरेष्टकै कक्षा ९ की छात्रा साक्षम बस्नेतलाई राष्ट्रिय स्तरको टेबल टेनिस डबल्स प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गरिएको छ । उहाँलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो ।
दुबै जनालाई विद्यालयका प्राचार्य टिकाराम पुरीले खादा, टीका र नगद पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य पुरीले यस्ता उपलब्धि हासिल गर्ने विद्यार्थी एउटा विद्यालयको मात्र नभई देशकै गहनाको रुपमा स्थापित हुने विश्वास गर्नुभयो ।
उहाँले अध्ययनका साथसाथै आफ्ना रुचि अनुसारका कृयाकलापमा पनि मेहनत गर्न सक्ने ब्यक्ति सफल हुने समेत बताउनुभयो । उहाँले विजयी खेलाडीहरुलाई हौसला प्रदान गर्दै भन्नुभयो, ‘यो उपलब्धिले खेलाडी विद्यार्थीको मात्रै हैन एभरेष्टको समेत इज्जत बढेको अनुभूति हामीले गरेका छौं ।’
Post a Comment