Websoft University

आर्थिकमन्दीमा पनि विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन दुई वर्षमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल


विराटनगर | आर्थिकमन्दीले आन्तरिक राजस्व खुम्चिएको अवस्थामा पनि विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।

हाल  १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेका छन् । सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताउनुहुन्छ । 

उहाँका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् । वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिनुभयो । 

वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।

वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको    छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ । 

महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उहाँले बताउनुभयो । १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । 

विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको    छ । त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।

वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्की बताउनुहुन्छ । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली दाबी गर्नुहुन्छ । 

महानगरको नेतृत्वले बिना भेद्भाव सबै वडालाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुका साथै बहुवर्षीय ठूला योजना सञ्चालन गरेकोमा वडाध्यक्षहरु पनि खुसी व्यक्त गर्दछन् । मेयर नागेश कोइराला नेतृत्वको महानगरको टिमले जनताले महसुस गर्ने गरी कार्य गरिरहेको बुद्धिजीवी र स्थानीयवासीको भनाइ छ । महानगरको सरसफाई, आन्तरिक प्रशासनमा विगतमा भन्दा धेरै सुधार गर्नुका साथै भौतिक पूर्वाधारको विकासले पनि गति लिएको बुद्धिजीवि कृष्णप्रसाद भण्डारी मार्सेलीको भनाइ छ । देखिने गरी हरेक वडामा ठूला र साना परियोजना सञ्चालन भइरहेकोमा उहाँको भनाइ थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.