Websoft University

महानगर रोजगार मेला सुरु-सफाई कर्मचारीदेखि सहायक सिईओसम्मको माग, पहिलो दिन २ हजार २ सयको निवेदन, ३९२ जनाका लागि रोजगारी सिर्जना |


विराटनगर |  विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ | 

महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिनुभयो । मागमध्ये ३ सय ९२ जनाका लागि रोजगारीसमेत सिर्जना भएको उहाँले बताउनुभयो ।


महानगरले रोजगारदाता र रोजगारीको खोजीमा रहेको जनशक्तिलाई जोड्ने उद्देश्यले पहिलोपटक रोजगारी मेला आयोजना गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताउनुभयो । मेलाबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रह गर्नुभयो ।

हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले मात्रैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गर्नुभयो । “बाँकी धेरैजसो विदेश पलायन हुनुपर्ने बाध्यता छ । महानगरले आयोजना गरेको रोजगार मेलाले बेरोजगारी समस्या सबै समाधान त गर्न सक्दैन । तर एउटा सानो प्रयास चाहिं हो भन्ने मलाई लाग्दछ,” कोइरालाले भन्नुभयो, “मेलाबाट बढीभन्दा बढी लाभ उठाउन महानगरवासीलाई आग्रह गर्दछु ।

” रेमिट्यान्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दुरगामी असर पारिरहेको उहाँको भनाइ थियो । खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई–मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै मेयर कोइरालाले बताउनुभयो । “हामीले स्वदेशमै बढीभन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्न सकेमात्रै यस्ता समस्याबाट मुक्त हुन सक्दछौं,” उहाँको भनाइ थियो, “यस्ता मेलाले नयाँ रोजगारी सिर्जना र रोजगारीको अवसर प्राप्त हुन्छ ।”

उहाँले महानगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए अब रोजगारी प्राप्त गर्ने अवस्था नरहेको मेयर कोइरालाले बताउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले रोजगार मेलाले बजारमा कस्तो जनशक्ति आवश्यक छ र श्रमबजारमा कस्ता जनशक्ति छन् भन्ने विषय पनि प्रस्ट हुने बताउनुभयो । उहाँले मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने काम गरेको चर्चा गर्नुभयो । “महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक हुने मैले विश्वास लिएको छु,” उहाँले भन्नुभयो, “आफ्नो क्षमताअनुसारको रोजगारी नेपालमै पनि प्राप्त गर्न सकिन्छ भन्ने यस मेलाबाट पुष्टि हुनेछ ।”

कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रकुमार साह, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले महानगरले आयोजना गरेको रोजगारी मेलाबाट अन्य पालिकाका लागि पनि सिकाई हुने बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.