Websoft University

राजनैतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार भइरहेको छ - कोइराला


विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठूला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गरे । भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेकोउनकोदाबी थियो । “सुनकाण्डको छानबिन कहाँ पुग्यो ? ललित निवासको छानबिन के हुँदैछ ? अहिले एनसेल काण्ड आएको छ । भ्रष्टाचार काण्डका विषयमा गठन हुने कुनै पनि  छानबिन समितिको प्रतिवेदन बाहिर आउने गरेको छैन,” नेता कोइरालाले भने । कोइरालाले भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशका नाम बदनाम भएको जिकिर गरे ।

राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको सेटिङमा एनसेल काण्ड भएको उनको दाबी थियो । कोइरालाले जतिसुकै ठूला भ्रष्टाचारका मुद्दा बाहिर आए पनि राजनीतिक नेतृत्वले भने उन्मुक्ति पाउने गरेको बताए । “अन्य काण्डजस्तै आठ–दश दिनमा एनसेलको पनि रिपोर्ट आउला तर त्यसले राजनीतिक नेतृत्वलाई छुँदैन,” उनले भने, “त्यसले व्यापारीलाई छोला अनि अलिअलि कर्मचारीलाई पनि छोला तर राजनीतिक नेतृत्वलाई छुँदैन तपाईंहरु हेर्दै जानुहोला ।”

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश अगाडि बढेको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । वर्तमान नेतृत्वबाट देश नबने बताउँदै कोइरालाले जतिसक्दो चाँडो गठबन्धन सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै विराटनगर महागरपालिकाका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला, संस्कृतिसहित चौतर्फी विकासले मात्रै विराटनगर समृद्ध हुने बताए । विशिष्ट अतिथिका रुपमा सम्बोधन गदैै मेयर कोइरालाले विराटनगरमा छरिएर रहेका सबै भाषा, संस्कृति, कला र साहित्यको विकासका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए । प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको बताउँदै मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै मानवीय सूचकांकको विकासमा आफू गम्भीर रहेको सुनाए । मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत महानगरवासीको असीमित इच्छा र चाहना परिपूर्तिका लागि लागिपरेको प्रस्ट पारे । कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार आदरणीय धर्मेन्द्र झा दाइलाई नगदसहित पुरस्कृत गरिएको थियो । श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाई समेत सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुली, जयराम यादव, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, राप्रपाका केन्द्रीय सदस्य केदार कोइराला, प्राध्यापक कविराज न्यौपाने, विश्लेषक भेषप्रसाद धमला, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, साहित्यकार डा. मेदिनीप्रसाद शर्मा नेपाल, कवि चूडामणि नेपाल अकिञ्चन, दिङ्लाली कान्छोलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । अग्रज पत्रकार शरदराज सुवेदी र रुपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । १५ लाख रुपैयाँको अक्षयकोष राखेर स्थापित प्रतिष्ठानबाट यसअघि ७–७ जना साहित्यकार र पत्रकार पुरस्कृत भइसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.