Websoft University

विद्यार्थीलाई सम्मान गर्दै मेयर कोइरालाले भने– विराटनगर शैक्षिक हब बन्दैछ


विराटनगर चैत ३ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर शैक्षिक हब बन्दै गएको बताएका छन् ।

विराटनगरस्थित बाल कल्याण विद्यामन्दिर (विकेभिएम) स्कुलले आयोजना गरेको विद्यार्थी सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर शिक्षा र स्वास्थ्यको हब बन्दै गएको बताएका हुन् । एमवीवीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा विराटनगरका कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति पाउनुले विराटनगर शिक्षाका लागि मुलुककै अग्रणी सहर बन्दै गएको दाबी गरे । विकेभिएमका १६ जना विद्यार्थीले एमवीवीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति पाएका छन् ।

जसमध्ये एमवीवीएसको प्रवेश परीक्षामा १६ हजारभन्दा बढी परीक्षार्थीलाई पछि पार्दै विकेभिएमका विद्यार्थी परफिन यादव देशभरमै दोस्रो भएका छन् । मेयर कोइरालाले विराटनगरमा शैक्षिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरे । 

उनले विराटनगरमा कोशी प्रदेश मात्रै नभएर मधेश प्रदेश र अन्य प्रदेशका विद्यार्थी पनि अध्ययन गर्न आउनुले शैक्षिक पर्यटनको सम्भावना अति धेरै रहेको बताए । “विराटनगर पछिल्लो समय शैक्षिक हब बनेको छ,” उनले भने, “शैक्षिक पर्यटनमार्फत पनि विराटनगरको विकास गर्न सकिन्छ ।” आगामी दिनमा विराटनगरको प्रतिष्ठालाई थप उच्च पार्ने गरी अध्ययन गर्न विद्यार्थीहरुलाई मेयर कोइरालाले आग्रह गरे । विकासको जग शिक्षा भएकाले महानगरले शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले सुनाए ।

कार्यक्रममा मेयर कोइरालासहित विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, विद्यालयका प्रिन्सिपल रविन दाहाल, भाइस प्रिन्सिपल अञ्जली दाहाललगायतले विद्यार्थीहरुलाई अविर र माला लगाएर सम्मान गरेका थिए । सो विद्यालयबाट यादवसहित आदित्य शर्मा, आयाम कट्टेल, रोहन प्रसैला, मनिष गुप्ता, प्रिजल थापा, रुपेन कामत, आयुष गौतम र तोसलविक्रम साहले एमविविएसतर्फ पूर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन् । त्यस्तै इन्जिनियरिङतर्फ उत्सवराज श्रेष्ठ, अभिनय कर्ण, युनेश पोखरेल, सार्थक पोखरेल, पंकजकुमार मेहता र प्राजितकुमार भुजेलले पूर्ण छात्रवृत्ति पाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.