Websoft University

विराटनगर–१९ मा सुगर, प्रेसर तथा बालकुपोषण खोजी


विराटनगर÷ विराटनगर वडा नम्बर १९ ले सुगर, प्रेसर तथा बालकुपोषण खोजी अभियान सुरु गरेको छ । विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको शिविरमा आसपासका क्षेत्रका स्थानीयले सुगर र प्रेसरको जाँच गराएका थिए । सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने संख्या बढ्दो रहेको वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका बस्नेतले बताए । “कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुन्छ,” बस्नेतले भने, “बेलैमा स्वास्थ्य परीक्षण गरियो भने रोग पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।”

आममानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटुरोग, किड्नीसम्बन्धी रोग लाग्ने गरेको जनाइएको छ । वडा नम्बर १९ का १२ वटा टोलबस्तीमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको उपस्थितिमा खोजी कार्य सञ्चालन गरिने वडाध्यक्ष श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार अभियानबाट पत्ता लागेका रोगीहरुका लागि आगामी पुस ११ गते विशेषज्ञ डाक्टरसहितको टोलीले  थप परीक्षणका साथै उपचार गर्नेछ । बैथनाथपुर स्वास्थ्य चौकीमा थप परीक्षण र उपचार गरिनेछ ।

४० वर्ष नाघेका सबै वडाबासीको सुगर र प्रेसर जाँच गरिने वडाध्यक्ष घिमिरेले बताए । अस्वस्थकर खाना, शारीरिक सक्रियताको कमी, मद्यपान र धु्रमपानको प्रयोगका कारण सुगर, मुटुरोग, किड्नीलगायतका रोग लाग्ने गरेको वडा नम्बर १९ स्थित बैथनाथपुर स्वास्थ्य चौकीका प्रमुख भोला तिम्सिनाले बताए । स्वास्थ्यमा ध्यान दिए रोग लाग्नबाट बच्न सकिने उनको भनाइ थियो । महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडाका सम्पूर्ण गर्भवती, सुत्केरीलगायत २ वर्षमुनिका बालबालिकाको तथ्यांक संकलन गरिने वडाध्यक्ष घिमिरेले बताए । कुपोषित बालबालिकाको लगत संकलन गर्नुका साथै स्वास्थ्य चौकीमा सुनौलो हजार तथा पोषण शिक्षा एवं व्यवस्थापन गर्ने योजनासमेत रहेको उनले सुनाए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.