Websoft University

विराटनगरका मेयर कोइराला र न्युयोर्कका मेयरबीच भर्जुअल संवाद


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्क सहरसित भगिनी सम्बन्धको प्रस्ताव गरेका छन् ।

अमेरिकाको न्युयोर्क सहरका मेयरसितको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव गरेका हुन् । कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत गरे । उनले विराटनगर राजनैतिक र औद्योगिक नगरी भएको चर्चा गरे । कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारीसमेत गराए । उनले विराटनगरको सबैभन्दा ठूलो समस्या डुबान भएको बताए । “विराटनगरका लागि डुबान सबैभन्दा ठूलो समस्या हो,” उनले भने, “त्यो समस्या समाधान नगरेसम्म सडक र नाला बनाएर काम छैन । किनभने डुबान भएपछि सडक बिग्रन्छ । नाला पुरिन्छ । टिकाउ विकासका लागि पनि डुबान समस्या समाधान गर्नु आवश्यक छ ।”

उनले त्यसका लागि पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलियामा तटबन्ध बनाउन पहल भइरहेको बताए ।

कोइरालासहित नेपालका आधा दर्जन मेयरहरूबीच द्विपक्षीय हित र साझेदारीका विषयमा भर्चुअल संवाद कार्यक्रम भएको थियो । न्युयोर्कमा रहेका अगुवा नेपाली समुदायको प्रयासमा भएको द्विपक्षीय संवादबाट नेपालका नगरहरू र न्युयोर्क सहरसँग भगिनी सम्बन्ध, शैक्षिक र सांस्कृतिक आदानप्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाहरूले बताएका छन । न्युयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगरका मेयर कोइराला, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, दोलखाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, उदयपुरको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र लमजुङको सुन्दरबजार नगरका मेयर कृष्णप्रसाद कोइराला सहभागी थिए ।

द्विपक्षीय भर्चुअल संवादमा मेयर एडम्सले नेपालसँग अमेरिका र न्युयोर्क सहरको भावनात्मक सम्बन्ध रहेको बताए । उनले कोरोना महामारीको समयमा न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरूले महामारी नियन्त्रणमा गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गरेका थिए । “नेपाल मलाई मनपर्ने देश हो र मैले सन् २०१५ मा भ्रमण गरिसकेको छु,” मेयर एडम्सले भने, “अब फेरि भ्रमण गर्ने इच्छा छ । समय मिलाएर चाँडै नै नेपाल आउनेछु ।”

कार्यक्रमको गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेका थिए । उनले नेपालका नगरहरू र न्युयोर्कबीच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रूपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजनाहरूमा साझेदारीका लागि भर्चुअल माध्यमबाट छलफल प्रारम्भ भएको सुनाए । सोमनाथ घिमिरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सम्बन्ध सल्लाहकार हुन् ।

न्युयोर्कका मेयर ऐरिक एडम्सको प्रमुख अतिथ्यमा चलेको बैठकमा नेपालका नगर प्रमुखहरूले द्विपक्षीय सम्बन्ध र नेपाली नगरहरूको विकास बारे आ–आफ्ना धारणा राखेका थिए । मेयर एडम्सलाई नेपालका ६ जना मेयरहरुले आ–आफ्नो सहरको भ्रमणका लागि निमन्त्रणा दिए भने न्युयोर्क चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष अमित शाहले आफ्नो धारणा राख्दै मेयर एडम्सको परिचय गराउँदै सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा न्युयोर्क सहरको मेयर कार्यालयका डेपुटी कमिसनर आईसाता कामरा, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनर एडवार्ड मर्मेलस्टेन, मेयरको कार्यालयका अर्का अन्तर्राष्ट्रिय सम्बन्ध डेपुटी कमिशनार दिलीप चौहानले नेपालका नगरहरूसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यबारे धारणा राखेका थिए । गिरिजा प्रसाद कोइराला (जिपिके) फाउडेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले नेपालका नगरहरू र न्युयोर्क सहरबीच भगिनी सम्बन्ध र द्विपक्षीय सहकार्यका लागि ढोका खुलेको प्रतिक्रिया दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.