Websoft University

मेयर कोइरालाद्वारा वडा कार्यालय र स्वास्थ्यचौकीको आकस्मिक अनुगमन स्थानीय भन्छन्– सकारात्मक कामको थालनी भो


विराटनगर साउन ३० गते | रातो तारा डट कम,वडा कार्यालय र स्वास्थ्यचौकीहरूको कामकारबाही चुस्तदुरुस्त नभएको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आकस्मिक अनुगमन गरेका छन् ।


मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशनसमेत दिए । 


निर्वाचित भएर आएलगत्तै डुबान समस्या, फुटपाथ खाली गर्ने र चौपाया नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको महानगरपालिकाले वडा र महानगर मातहतका स्वास्थ्यचौकीको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने अभियान सञ्चालन गरेको छ । वडा कार्यालय र स्वास्थ्य चौकीको सेवा प्रवाह दुस्तदुरुस्त नभएको भन्ने जनगुनासो आएपछि महानगरपालिकाका मेयर नागेश कोइरालाले आकस्मिक रुपमा वडा कार्यालय र स्वास्थ्यचौकीको अनुगमन सुरु गरेका हुन् । 


उनले सोमबार विराटनगर वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरे । सो क्रममा जनगुनासो नआउने गरी काम गर्न वडा र स्वास्थ्यचौकीका कर्मचारीलाई निर्देशनसमेत दिए । वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारी समयमै नआउने, आएर पनि पूरै समय नबस्ने, स्वास्थ्य चौकीमा औषधि अभावलगायतका समस्यालाई लिएर बारम्बार जनगुनासो आएपछि अनुगमन गरिएको मेयर कोइरालाले बताए । “यो गुनासो एउटा वडामात्रै होइन सबै वडाबाट आइरहेको छ,” मेयर कोइरालाले भने, “सम्बन्धित ठाउँमै पुगेर समस्याको पहिचान गर्दा समाधान गर्न सहज हुने महसुस गरेर अनुगमन गरेको हो । महानगर मातहतका सबै कार्यालयमा ई–हाजिरको आवश्यक पनि देखियो ।”  


सो मेयर कोइरालाले महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने बताउँदै राजस्व संकलनमा कडाइका साथ उत्रिनुपर्नेमा जोड दिए । नक्सा पास नगरी बनाएका घर, मापदण्ड मिचेका संरचनालगायतको तथ्यांक संकलन कारबाहीको दायरामा ल्याउनसमेत उनले निर्देशन दिए । “हाम्रो लक्ष्य भनेको समृद्ध र विकसित विराटनगर बनाउने हो,” मेयर कोइरालाले भने, “त्यसका लागि सबै मिलेर आम्दानी बढाउनु प¥यो, कहाँ–कहाँबाट आम्दानी बढाउन सकिन्छ त्यसको पहिचान गर्नुप¥यो । जबसम्म आम्दानी बढाउन सकिँदैन तबसम्म हामीले सोचेजस्तो विकास गर्न गाह्रो छ ।” 


सो क्रममा मेयर कोइरालाले समस्याका विषयमा वडाध्यक्ष प्रकाश साह र स्थानीयसित छलफलसमेत गरे । वडा नम्बर १५ को सबैभन्दा ठूलो समस्या डुबान नै भएको वडाध्यक्ष साह र स्थानीयले बताएका थिए । वडाध्यक्ष साहले वडामै आएर मेयर कोइरालाले समस्या सुनिदिनु सकारात्मक भएको बताए । उनले भने, “मेयर साबले वडामै आएर समस्या बुझ्नु भयो । आजको भोलि समस्या समाधान हुँदैन त्यो हामीलाई पनि थाहा छ । तर यसले कर्मचारीसहित जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन सहयोग पुग्छ ।” 

वडा कार्यालयपछि मेयर कोइराला रानी स्वास्थ्य चौकीको अनुगमनमा पुगेका थिए । अनुगमनमा पुग्नु भएका मेयर कोइरालालाई सेवाग्राहीले स्वास्थ्य चौकीमा औषधि, दक्ष जनशक्तिको अभावलगायतका समस्या राखेका थिए । कतिपयले स्वास्थ्य चौकी रेफर सेन्टरमात्रै भएको गुनासो गरेका थिए । स्थानीय मेतलाल साहले सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको समस्या सुन्नु राम्रो पक्ष भएको प्रतिक्रिया दिए । उनले दक्षिणी क्षेत्रका ३–४ वटा वडालाई सेवा दिने गरी स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन आग्रहसमेत गरे । अनुगमनका क्रममा सेवाग्राहीले स्वास्थ्य चौकीमा प्रेसर र सुगरको समेत औषधि नभएको गुनासो पोखेका थिए । मेयरले सम्बन्धित ठाउँमै पुगेर समस्या सुन्नुलाई सकारात्मक भएको स्थानीयले प्रतिक्रिया दिएका छन् । “यसलाई निकै सकारात्मक रुपमा लिनुपर्छ,” स्थानीय सुनिता यादवले भनिन्, “मेयरज्यूले हाम्रो समस्या मजाले सुनिदिनु भयो । आशा छ अबदेखि स्वास्थ्यचौकीबाट राम्रो सुविधा पाइन्छ होला ।” 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.