Websoft University

मेयरलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्यालय सञ्चालक


बिराटनगर साउन २ गते । रातो तारा डट कम,आफ्ना माग सम्बोधन नभएको भन्दै सुन्दरहरैंचाका संस्थागत विद्यालयले ८ बुँदे माग राखी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । संस्थागत विद्यालयका सञ्चालकहरुका संगठन प्याब्सन र एन प्याब्सनले आज देशभरका स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रममा सुन्दरहरैंचामा पनि ज्ञापनपत्र बुझाइएको हो ।

नयाँ विद्यार्थी भर्ना गर्न, पाठ्यपुस्तक तथा शिक्षण सामग्रीको व्यवस्थापन गर्न, जोरबिजोर वा आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न पाउनुपर्ने ती संगठनको माग छ । क्वारेन्टिनका रुपमा कुनै शिक्षण संस्थाको प्रयोग भएको भए क्वारेन्टिन सार्न पनि माग गरिएको छ।

यो शैक्षिक सत्रका लागि सबै बिदाहरु कटौती गरी नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्न माग गरिएको छ । १ महिनाको शुल्क अभिभावकलाई छुट दिन विद्यालय सञ्चालक तयार भएको र बाँकी ११ महिनाको शुल्क उठाउन पाउनुपर्ने व्यवस्था गर्न पनि माग गरिएको छ । घरबहाल कर छुट दिन पनि माग गरिएको छ । यी सबै माग केन्द्रीय समितिका माग भएकोबताइएकोछ ।

सुन्दरहरैंचामा भने थप एउटा माग राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पूर्ण रुपमा कार्यान्वयन गराउने एवम् अनुगमन गर्ने व्यवस्था गरिनुपर्ने माग थप गरिएको प्याब्सन सुन्दरहरैंचाका सचिव दीपक केसीले बताए ।

सो मागपत्र प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष हरिश्चन्द्र ढकाल र एन प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष महेन्द्र राईले संयुक्त रुपमा सुन्दरहरैंचाका मेयर शिव ढकाललाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मेयर ढकालले संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधि र नगरपालिका बसेर समस्याको समाधानको लागि छलफल गर्न सकिने बताए । विद्यालय सञ्चालकको माग आफूले पनि महसुस गरेको भन्दै उनले जति सक्दो चाँडो नगरको तर्फबाट गर्न सकिने माग पूरा गरी विद्यालय सञ्चालनको लागि वार्ता गर्न तयार भएको बताए ।

नगरका कार्यकारी अधिकृत तथा शिक्षा शाखा प्रमुख दामोदर चापागाईंले कतिपय माग नगरले सम्बोधन गर्न सक्ने भए पनि कतिपय माग केन्द्रले सम्बोधन गर्ने माग भएका हुनाले विद्यालय सञ्चालकले त्यसै अनुसार नगरपालिकाको समस्या बुझिदिन आग्रह गरे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य हेमन्त कार्की , प्रदेश न‌‍‌‍ १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल,  जिल्ला अध्यक्ष अर्जुन बस्नेतका साथै प्याब्सन तथा एन प्याब्सन सुन्दरहरैंचा कार्यसमितिका पदाधिकारी र विद्यालय सञ्चालकको उपस्थिति थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.