Websoft University

आरोहणको काव्यारोहण कविता यात्रामा बम देवानको प्रस्तुती




विराटनगर,माघ ४ गते । रातो तारा डट कम,आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण ‘आरोहण कविता यात्रा’को तेस्रो भागमा वरिष्ठ कवि बम देवान प्रस्तुत भएका छन् । 
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि देवानले आफ्ना दर्जन बढी कविता वाचन गरे । साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिने कविको रूपमा परिचित देवानले ‘आगाको फूल’, ‘भरिया कान्छो’, ‘वन फूल’, ‘बुद्ध नेपाल’, ‘वैशाख हिंडिरहेको छ’, ‘नङ्ग्याइँदा हरेक क्षण आजको द्रौपदी’, ‘हिमालको हिउँसित बाँधिएका हिउँ छायाहरू’, ‘वाह यी फूलहरू’, ‘वनफूलहरू’, ‘भरिया कान्छो’, ‘जब–जब’, ‘लड्न अघि’, ‘भयबोध’, ‘माछापुच्छेको आँखा र तस्बिर’, ‘मेरी प्रियसी,’ र ‘मेरो महान मान्छे’ शीर्षकका १५ वटा कविता प्रस्तुत गरे । २०२१ सालदेखि लेखन थालनी गरेका देवान महानन्द पुरस्कार, कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कारलगायत सम्मानबाट सम्मानित भइसकेका देवानको कविता सुन्न विराटनगरसहित धनकुटा, दमक, धरान, इटहरीका साहित्यकार, विद्यार्थी, वुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो । 
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रममा आरोहणले  यसअघि आयामेली कवि बैरागी काइँला र वरिष्ठ कवि तुलसी दिवसलाई उभ्याइसकेको थियो । अग्रजहरूको सम्मानस्वरूप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । कविता सुनाइसकेपछि देवानलाई आयोजकका तर्फबाट आरोहणका अध्यक्ष भैरव क्षेत्री, प्राज्ञ विवश पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । नयाँ पुस्तालाई पुरानो पुस्तासँग परिचित गराउँदै कविताप्रति पाठकको आकर्षण बढाउन एकल कविता वाचन सुरु गरिएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले विश्वास व्यक्त गरे । 
देवानले साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिएका छन् । पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गरेका उनी राजनीति र साहित्यलाई सँगै हिंडाउने वामविचारकका रूपमा परिचित छन् । 
२००३ साल मंसिरमा संखुवासभाको आँधीभूइँमा जन्मिएका देवानको साहित्य लेखन २०२१ सालदेखि सुरु भएको थियो । प्रकृति र मानिसलाई उचालेर वर्गीय धरातलमा उभिएर लेख्ने गर्दछन् देवान । उनी वि.सं. २०४३ देखि २०४७६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । आरोहण गुरुकुलले साहित्य र रंगमञ्चलाई सँगसँगै अगाडि बढाइरहेको अध्यक्ष भैरव क्षेत्रीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.