काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम,१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आठौं दिन आज विभिन्न १५ विधाका खेलहरु हुँदैछ । आज काठमाडौं पोखरा र जनकपुरमा गरि १५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलतर्फ आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्काे टिमको टुंगो लाग्नेछ । भुटान यसअघि नै फाइनल पुगिसकेको छ । क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आज स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । नेपालले भने माल्दिभ्सलाई सहजै पराजित गर्दै कास्य पदक जितेको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टोलीबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेल आज बिहान ११ बजेबाट सुरु हुनेछ । त्यस्तै सुटिङतर्फ आज एक मात्रै खेल हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आजै हुनेछ । स्क्वासतर्फ आज महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ ।
अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन् । साग अन्तर्गत जुडोको खेल आजबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । बक्सिङमा आज विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।
भारोत्तोलनमा आज पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १ सय २ केजी, १ सय ९ केजी र १ सय ९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ । ह्याण्डबलमा आज अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् ।
पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ । महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् । बास्केटबलमा आज पनि लिग चरणको विभिन्न खेल हुनेछ । आज नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्नेछ । यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । पौडीमा आज विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । त्यस्तै आर्चरीमा आज विभिन्न खेलहरु हुने छ ।
फेन्सिङमा आजदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ । टेनिसमा आज विभिन्न स्पर्धामा प्रतिस्पर्धाहुनेछ । कुस्तिको खेल जनकपुरमा हुँदैछ । बिच भलिबलमा आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवै तर्फा उपाधिका लागि खेल्ने छन् ।
Post a Comment