Websoft University

सिमकोटका विद्यार्थी आगो ताप्दै वार्षिक परीक्षा दिदै,



काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम,हुम्लामा दोस्रो पटक हिमपात सुरु भएको छ । निरन्तरको हिमपातका कारण सरदमुकाम सिमकोटका विद्यार्थी आगो ताप्दै वार्षिक परीक्षा दिइरहेका छन् । सदरमुका सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि वार्षिक परीक्षा सञ्चालन भएको छ । 

बाहिर हिमपात हुँदा कक्षा कोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रहेको विद्यार्थीहरुले बताएका छन् । आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा विशेषतः साना कक्षा (कक्षा एक र दुईमा अध्ययन गर्ने) का विद्यार्थीहरुले आगोको सहायताले परीक्षा दिएका छन् । कक्षा एकमा २५ जना विद्यार्थी रहेका छन् भने कक्षा दुईमा १२ जना विद्यार्थीले परीक्षा दिएका हुन् । बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातका कारण अत्यधिक चिसो बढेकाले विद्यार्थीले आगो ताप्दै परीक्षा दिएका हुन् । अन्य उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाएको रावतले बताउनुभयो । सिमकोट गाउँपालिकाले वडा एकदेखि आठसम्म रहेका सबै विद्यालयमा २७ गते (आज)देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

परीक्षामा लेख्न नसकेपछि विद्यालयले आगो बालेर ताप्दै भएपनि लेख्न भनेको बालमन्दिर माविका विद्यार्थी ममता भण्डारीले बताउनुभयो । यस्तै, सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यािमक विद्यालय, भिमसेन आधारभुत विद्यालय, कालाशिल्ता प्राविमा पनि चिसोका कारण परीक्षा सञ्चालन गर्न समस्या भएको विद्यालयहरुले जनाएका छन् । चिसोले परीक्षा सञ्चालनमा समस्या भएको मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ८ मा भने चिसोका कारण परीक्षा स्थगित भएको छ । वडा नम्बर ८ मा रहेका सबै विद्यालयले विद्यालय र विद्यार्थी टाढा भएका कारण आवतजावतमा समस्या देखिएको भन्दै वार्षिक परीक्षा स्थगित गरेका हुन् । 

विहिबारबाट निरन्तरको हिमपातका कारण हुम्लामा घाम लागेको छैन । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या भएको गाउँपालिकाले जनाएको छ । चिसोले गर्दा नाम्खाको तिल, जाङ्ग, हल्जी, यारी, मुचु गाउँका स्थानीयलाई घरबाहिर निस्केर काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । बिहिबार विहानदेखि हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात हुँदा हवाई उडान प्रभावित भएको छ । 

हिमपातका कारण जिल्लाको एकमात्रै यातायात सेवा हवाईजहाज दुई दिनदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । विमानस्थल श्रोतका अनुसार नेपालगञ्ज सुर्खेतबाट विहान सात बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा,सीता, समिट एयरलाईन्सको उडान हुन सकेको छैन । हिमपातका कारण चिसो अत्याधिक बढेको छ । हुम्लाको तापक्रम माईनस ६ डिग्रीमा झरेको छ । दोस्रो पटकको हिमपातले जिल्लाका दक्षिणी क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जांै खनजोत गर्ने समयमा हिउँ पर्दा सजिलो हुने सर्केगाडका फागुने महतराले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.