श्याम राई - उदयपुर -गाईघाट जेष्ठ ३० गते । व्यस्त बजार क्षेत्र भित्र दुई वर्षदेखि सडक र नाला निर्माणको काम हुदै गर्दा त्यसबाट फैलने धुलोले स्थानीयलाई प्रभावित बनाएको छ ।
त्रियुगा नदीदेखि गाईघाट बजारको मुख्य चौक सम्मको करिब ९ सय ४० मिटर सडक चौडा पार्ने क्रममा भैरहेको निर्माण कार्यले तिब्र रुपमा फैलिएको धुलोले मानब शरीरलाई असर पारेको छ । धुलो कै कारण सडक आसपासका बासिन्दा, व्यापारी र सर्वसाधरण पैदल यात्रुमा दम र क्षयरोग देखा परेको छ ।‘ धुलोको असर अझै देखिन बाकी छ ।
अझ केही समयपछि सर्व साधरणमा असर देखा पर्न सक्छ ।’ चिकित्सक खुशीलाल ठाकुरले भने,‘ मेरो क्लिनीकमा अहिले सम्म ३, ४ जना क्षयरोगका विरामी आईसकेकाछन् ।’
उनले सडक निर्माणको बेला फैलेको धुलोले सर्व साधरणमा दम र क्षयरोग लागेको बताए ।
निर्धारीत समय भन्दा एक वर्ष ढिला भए पनि ठेकेदारले अझै काम सम्पन्न गरेको छैन । व्यस्त सडकको धुलाम्मे सडकमा दैनिक संयौको संख्यामा सवारी साधनको आवतजावतले सडक हिड्ने पैदल यात्रुले निकै सास्ती खानु परेको छ भने सडक छेउका पसल र वस्तीलाई समेत नराम्रोसँग प्रभावित तुल्याएको छ ।
‘ सडक धुलो सबै पसेर पसललाई करुप मात्र बनाएको छैन । दिनभरी मास्क लगाएर बस्नु परेको छ ।’ बजारमा मोवाई पसल चलाएर बसेका ललित नायकले भने ।
‘धुलोले आक्रान्त तुल्याएपछि हामीले पटकपटक सम्बन्धित निकायमा समस्या समाधान गर्न अनुरोध गर्यौ । तर कुनै सुनुवाई भएको छैन ।’ उनले भने ।‘ व्यापारी र स्थानीय बासिन्दा मिलेर सडक अवरुद्ध समेत गर्नु परेको उनले बताए ।
ठेकेदारले सडक निर्माणमा ढिलाई गर्दा सर्व साधरणले धुलोबाट समस्या भोग्नु परेको जेसिज उदयपुरका पूर्व अध्यक्ष एक राज बस्नेतले बताए ।‘ हामीले धेरै पटक स्थानीय प्रशासन र नगरपालिकामा धुलो नियन्त्रणको लागि मौखिक आग्रह गर्यौ । तर समस्या निराकरण हुन सकेन ।’ उनले भने । धुलोले स्थानीय बासिन्दा, व्यापारी र सर्व साधरण पैदल यात्रिहरुलाई असर गर्दा समेत राज्यको कुनै निकायबाट चासो लिने काम सम्म हुन सकेन ।’ उनले भने ।
स्थानीयको तिब्र विरोधको बाबजुद नगरपालिकाले केही समय धुलाम्मे सडकमा पानी छिट्ने काम गरे पनि नियमित हुन सकेको छैन । पैदल हिड्ने र पसलमा बस्ने व्यापारीहरुलाई अहिले पनि मास्क नै प्रयोग गर्नु पर्ने बाध्यताले छोडेको छैन । दिउसो सवारी चल्दा मुख्य सडकको ९ सय मिटर क्षेत्र पूरै धुलोले ढाक्ने गरेको छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगरमा प्रदुषण नफैलियोस भनेर आफूहरु सचेत रहेको बताए । ‘ निर्माणधिन सडकमा पानी छिट्ने ठेकेदारको काम भएपनि नगरपालिकाले सर्व साधरणको स्वास्थ्यलाई मध्य नजर गरेर धुलाम्मे सडकमा पानी छिट्ने गरेको उनले बताए ।‘ स्थानीयको गुनासो आएपछि हामीले सडकमा पानी छिटीरहेका छौ । कुनै बेला कर्मचारीको अभाब हुदा वाहेक अरुबेला निरन्तर पानी छिटिरहेका छौ ।’ उनले भने ।
बजार क्षेत्रलाई सफा र स्वाच्छ राख्ने नगरपालिकाको अभियान नै भएकोले सडक निर्माणपछि नगरक्षेत्रमा बोट विरुवा लगाउने काम गरिने उनले बताए ।
गाईघाट–दिक्तेल सडक योजनाले दुई वर्ष अघि मुख्य सडक विस्तारसँगै पक्कि सडक र नाला निर्माणको लागि दुई वर्ष अघि ठेक्का लगाएको थियो ।
एक वर्ष भित्रै सक्नेगरि सूर्य कन्ट्रक्सनले काम लिएको थियो । तर निर्धारीत समयमा काम नसकेपछि पुन १ वर्ष उक्त कम्पनीलाई म्याद थप गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।
Post a Comment