शिव भट्टराई-इटहरी,चैत १ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ बस्ने सरोज बुढाथोकीलाई लाखौं ठगी गरेको आरोपमा बिहीवार पक्राउ गरेको छ । सरोज बुढाथोकीद्वारा ठगिएका घनश्याम पोखरेल र रामकुमारी थरुनीले इलाका प्रहरी कार्यालय मंगलबार उजुरी दर्ता गरेपछि उनलाई पक्राउ गरिएको हो ।
उजुरीकर्ता पोखरेलले आफ्नो ३ लाख बुढाथोकीले ठगेको आरोप लगाएका छन् । उता रामकुमारी थरुनीको भने १७ लाख ठगेको बताइएको छ । बुढाथोकीले अरुको कृषि फर्म देखाउदै रकम उठाउने गरेको पीडितहरुले बताएका छन् । बुढाथोकीले सप्तकोसी सप्लायर्स नामको फर्म दर्ता गरेको पीडितहरु बताउछन् ।
त्यही फर्मको नामबाट उनले म्याद गुज्रेका खाद्य वस्तु (विस्कुट, चाउ, चाउ) लगायतका सामग्री ल्याएर बेच्ने गरेको खुलेको छ । उनले कृषि फर्म सप्लायर्स देखाउदै पैसा उठाएका थिए । पछि पैसा दिनेहरुले फिर्ता माग्न थालेपछि उनले इटहरीका बिभिन्न बैंकका चेकहरु दिने गरेका थिए । चेक पाएपछि बैंकमा पैसा साट्न जाँदा पैसा नभएको पीडित घनश्याम पोखरेलले बताए ।
उनले भने–‘पटक–पटक बैंकमा पैसा लिन जाँदा नपाएपछि बाध्य भएर उजुरी दिएँ ।’ बुढाथोकीले उनलाई गत साउन १६ गते ३ लाखको चेक दिएका थिए । सो चेक हालसम्म नसाटिएपछि घनश्याम पोखरेलले आफू ठगिएको बताए । उनलाई सनराइज बैंकको चेक दिइएको थियो ।
इलाका प्रहरी कार्यालयका इनिष्पेक्टर बुद्धिराम चौलागाईंले पक्राउ परेका बुढाथोकीको कर्तुतको विषयमा अनुसन्धान जारी रहेको बताए । चौलागाईका अनुसार यस प्रकृति मुद्दा उच्च अदालत विराटनगरले हेर्छ ।
Post a Comment