शिव भट्टराई - मोरंङ चैत २८ गते । रातो तारा डट कम,
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकास दिने समय अहिले नआएको बताउनुभएको छ। मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका क्षेत्रबाट निर्वाचित जनप्रतिनिधीहरुको सम्मान कार्यक्रममा मन्त्री पण्डितले त्यसो भन्नुभएको हो।
मंगलबार भएको कार्यक्रममा मन्त्री पण्डितले देशलाई समृद्व बनाउने समय आएको भन्दै अनुभवी कर्मचारीलाई अवकास नभएर काममा लगाउनुपर्ने बताउनुभयो। देशमा बल्ल मात्र स्थिर सरकार गठन भएको भन्दै अव अनुभवी कर्मचारीले देश बनाउनलाई लागि पर्नुपर्ने बेला आएको बताउनुभयो।
कर्मचारीलाई जागिर खानेबेलामा जस्तो सुकै स्थान वा बेलामा पनि खटिन्छु भन्ने सपथ खाएको हुन्छ भन्दै मन्त्री पण्डितले अहिले पायक पर्ने ठाउँमात्र खोज्न नहुने बताउनुभयो। खटाईएका ठाउँमा गएर काम नगर्ने कर्मचारीलाई निजामती कर्मचारी ऐन अनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो।
कार्यक्रममा सुन्दरहरैचाका मेयर शिव ढकालले नगरपालिकाका समस्याहरु बताउनुभएको थियो भने मन्त्री पण्डितले नगरपालिकाको नामै सुन्दरहरैँचा भएकोले नगरपालिकालाई सुन्दर बनाउन सबै लागि पर्नुपर्ने औँल्याउनुभयो।
कार्यक्रममा प्रदेश सभाका सदस्यहरु राजकुमार ओझा, लोकप्रसाद संग्रौला, प्रतिनिधी सभाका सदस्य भानुभक्त ढकाल, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी,पूर्व मन्त्री एवं सभासद गोपी अछामी, एमाले पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकाललगायत उपस्थित हुनुहुन्थ्यो।
Post a Comment