Websoft University

खानेपानीका मुहान सुक्दै- पानीको समस्य बढ्दै

(फायलफोटो)

काठमाण्डौं,बैशाख १३ गते । रातो तारा डट कम, गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन् । जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजर)को प्रयोग गरी सडक निर्माण हुने क्रम वढेसँगै पानीका मुहान सुक्न थालेका हुन् ।

केही वर्ष यतादेखि डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले बताउनुभयो । जंगलमा जथाभावी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले मुहानक्षेत्रको भू–भाग कम्पनका कारण प्रभाव पर्दा पानीका मूलमा असरपरी सुक्न थालेको विशेषज्ञहरु वताउँछन् ।

डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन् । केही वर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ । पानीका मुहान सुक्न थालेसँगै खानेपानीको अभाव हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित वन्न थालेका छन् ।

पुर्खौँदेखि सञ्चालनमा रहेका पानीका मूलहरुमा समेत खानेपानी अभाव हुन थालेको नवदुर्गा १ सुनकोटका स्थानीयबासीले जानकारी गराउनुभयो । सधैँ पानी हुने नौला कुवामा समेत पानी कमभई गाउँमै पानीको समस्या उत्पन्न भएको सुनकोटका लक्ष्मी विकले जानकारी गराउनुभयो ।

खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ । खानेपानीको अभावसँगै स्थानीय बासिन्दा घण्टौँको दूरीबाट खानेपानी ल्याएर खान बाध्य भएका छन् ।

समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.