Websoft University

तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह


काठमाडौँ, फागुन २८ गते । रातो तारा डट कम,
गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले देशमा अशान्ति कायम गर्ने अपराधी र अर्थतन्त्रलाई तहसनहस पार्ने तस्करविरुद्ध मन्त्रालयले कडा नीति अख्तियार गर्न शुरु गरेको भन्दै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “त्यस्ता अपराधी र तस्करविरुद्ध तपाईंहरुले सञ्चार माध्यमबाट समेत सूचना दिनुहोस्, मन्त्रालयले प्रशासनिक ढंगबाट तिनीहरुविरुद्ध कारबाही गर्छ ।”

उहाँले सुरक्षा निकायदेखि उद्योगी, व्यवसायी, प्रशासन हरेक क्षेत्रमा केही गलत गतिविधिमा संलग्न केही व्यक्तिका कारण ती निकाय नै बदनाम भएको भन्दै त्यस्ता व्यक्तिको पहिचानमा मन्त्रालय लागेको बताउनुभयो ।

तस्करका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्न भन्सार छली गर्ने र हुण्डीको कारोबार गर्ने विरुद्ध निर्ममतापूर्वक मन्त्रालयले अभियान चलाउने गृहमन्त्री थापाको भनाइ छ । उहाँले भन्नुभयो, “एउटा कम्पनीले रु ४७ अर्ब सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन, केही कम्पनीले कर नतिरी मिनाहाका लागि नेताको घर चहार्दैछन् । त्यो पैसाले जलविद्युत्मा लगानी गरेको भए सयौँ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो ।”

उहाँले सुरक्षा संयन्त्रको संंरचनामा व्यापक परिवर्तन आवश्यक रहेको भन्दै त्यसका लागि काम शुरु गरिने जानकारी दिनुभयो । गृहमन्त्रीका रुपमा जनताले राहत महशुस गर्ने गरी आफूले काम गर्ने उहाँको भनाइ छ । प्रहरीको आवासगृहदेखि वृत्ति विकाससम्मका कामलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने उहाँले बताउनुभयो ।

उहाँले केही समूहले जातीयता, केहीले जनसत्ताको नाममा तथा केहीले धर्म र राजतन्त्रको नाममा अस्थिरता निम्त्याउन खोजेको भन्दै त्यस्ता गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार राजनीतिक र प्रशासनिक दुवै कदम सरकारले चाल्ने उहाँको भनाइ छ ।

गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएकाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले प्रधानमन्त्री कार्यालयका साथै गृह मन्त्रालय मातहत पनि जासुसी संगठनको आवश्यकता रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले मुलुकको शान्ति, सुशासन, स्थिरता र विकासका लागि पत्रकारसँग हातेमालो गरेर जान मन्त्रालय तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रहसमेत गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.