Websoft University

कास्कीको विकासमा सधैँ सहयोग गर्ने : दाहाल

काठमाडौँ, फागुन २१ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जन्मस्थानको विकास निर्माणका बारेमा आफूले सधैँ चासो राखेको र सहयोगसमेत गरेको बताउनुभएको छ ।

आफ्नो जन्मस्थानसमेत पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गर्नेहरुले स्थापना गरेको अन्नपूर्ण–काठमाडौँ समाजको साधारणसभालाई सम्बोधन गर्दै उहाँले आफ्नो जन्मभूमिको विकास र समृद्धिमा सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो जन्मभूमिप्रति माया दर्शाउँदै अध्यक्ष दाहालले आफूमा सधैँ कास्की र विशेषगरी ढिकुरपोखरीप्रतिको लगाव रहने बताउनुभयो ।

त्यसक्रममा पूर्व प्रधानमन्त्री दाहालले जन्मस्थान कास्कीको ढिकुरपोखरीको विकास र समृद्धिसँग जोडिन आफूले कुनै कसरसमेत बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

जन्मभूमिप्रतिको लगाव र मनोवैज्ञानिक सम्बन्ध गहिरो रहने भन्दै उहाँले त्यस क्षेत्रको विकास निर्माणका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय निकायसँग पनि मिलेर काम गर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका सबै वडामा सहज आवतजावतका लागि पक्की सडक र पर्यटनको विकासमा केन्द्रित हुनसमेत उहाँले समाजका सदस्यलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अन्नपूर्ण गाउँपालिकाका सबै वडामा जाने पक्की बाटो बन्न सके त्यसले पर्यटनको विकासमा पनि र त्यहाँका जनताको समृद्धिको यात्रामा ठूलो योगदान गर्न
सक्छ ।” अध्यक्ष दाहालको जन्मस्थलसमेत रहेको कास्कीको साविक ढिकुरपोखरी हाल अन्नपूर्ण गाउँपालिकामा रहेको छ ।
उहाँले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न, क्षमताको विकास गर्न र प्राविधिक शिक्षातर्फ जोड दिनसमेत आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष झलकराम अधिकारीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न आफूहरुले समाज स्थापना गरेर अगाडि बढेको जानकारी गराउनुभयो ।

कार्यक्रममा कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदद्वय दुर्गा विक र जगत विकको समेत उपस्थिति थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.