Websoft University

मोरङ–सुनसरी औद्योगिक करिडोरका झण्डै ११० जना उद्योग सञ्चालकहरू अनुसन्धानको घेरामा परेका छन


मोरङ फागुन १३ गते । रातो तारा डट कम,
विराटनगर भन्सार कार्यालयमा बुझाउनु पर्ने राजश्व हिनामिना प्रकरणमा मोरङ–सुनसरी औद्योगिक करिडोरका झण्डै ११० जना उद्योग तथा तिनका सञ्चालक समेत अनुसन्धानको घेरामा तानिएका छन् ।

भन्सार एजेन्ट ललित बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसले औद्योगिक करिडोर भित्रका अधिकांश उद्योगका भन्सार क्लियरिङ्ग गर्दा बुझाउनु पर्ने राजश्व ठगीमा बैंकसँग मिलेमतो गरेको विषय जटिल बन्दै गएपछि उद्योगीहरु नै अनुसन्धानको दायरामा परेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंक विराटनगरसँग भएको अख्तियारी प्रयोग गर्दै निमित्त प्रबन्धक राजेश डंगोलको जाहेरीका आधारमा बैंकको रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहामा कार्यरत वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई बैंक तथा वित्तिय संस्था ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै जाहेरी दर्ता भएको थियो ।

त्यो जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा बैंक घोटला प्रकरण दश करोड भनिएपनि त्यो भन्दा बढी दश अर्बको देखिएपछि भन्सार एजेन्ट ललित बोहरा तथा सुरेश बोहराको कम्पनीमार्फत कारोबार गर्ने सबै उद्योगीहरु एकै पटक अनुसन्धानको घेरामा परेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय टोलीसहित प्रहरीको केन्द्रीय तथा जिल्ला, क्षेत्रस्थित प्रहरी निकायले सबैमाथि एकै पटक अनुसन्धान समेत थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसको मुल नेतृत्व गरेपछि अन्य निकायले समेत घटना बाहिर ल्याउने अन्तिम कसरत थालेका हुन् ।

अनुसन्धानमा सहयोग गर्नका लागि साउनदेखि आयात तथा निर्यात गरेको बस्तुको विवरण, वस्तु आयात निर्यातमा भन्सारमा दाखिला गरेको राजश्व विवरण खुल्ने बैंक स्टेटमेन्ट तथा चेकको प्रमाणितप्रति भए त्यो बुझाउन लिखित पत्राचार भएको एक उद्योगीले जानकारी दिइएका छन् । उनले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको काम गर्न खोजेको आरोप लगाउँदै भने हामीले दिनुपर्ने प्रहरीलाई कुनै विषय छैन ।

भारतीय नाकाबन्दीदेखि नै उद्योगी तथा व्यवसायीहरुले भन्सारका प्रमुख, प्रहरीका उच्च अधिकारी र जिल्लास्थित प्रशासनका उच्च अधिकारीको मिलेमतोमा भन्सार छलेको आशंका समेत त्यसैसाथ खुलेको छ । त्यसताका भन्सारमा रहेका भन्सार अधिकृत कृष्ण बस्नेतदेखि पूर्व प्रहरी क्षेत्रीय कार्यालयका प्रमुख, जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समेत एकै पटक घटनामा जोडिने देखिएको छ ।

प्रहरीले वित्तिय अपराधमा संलग्न आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७४÷०७५ भन्दा अगाडीको समेत स्टेटमेन्ट झिकाउने तयारी थालेको छ । अहिले तत्काल चालु आर्थिक वर्षको बैंक विवरण मगाउन पत्राचार गरिएको भएपनि ठूलो घोटाला देखिएका कारण त्यसभन्दा अगाडीकै बैकिङ्ग कारोबारको विवरण मगाउनु पर्ने आवश्यकता महसुश भएको बताइएको छ ।

भन्सार एजेन्टसँग मिलेर अवैध आयातमा संलग्न रहँदै आएका प्रतिष्ठित उद्योग सञ्चालकदेखि व्यापारिक संस्थाको नेतृत्वकर्ता समेत प्रकरणमा संलग्न भएको यस अगाडी नै प्रहरीले आशंका गरेको थियो । विज्ञसहित अनुसन्धान थालेको प्रहरीले निष्कर्षमा ठूलै घोटाला हुने गरेको पत्ता लगाएको बुझिएको छ ।

क्लियरिङ्ग एजेन्ट ललित बोहरा र सुरेश बोहरा फरार रहेकै बेला व्यापारी तथा उद्योगीलाई अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार भएपछि धेरै उद्योगी तथा व्यवसायीहरु प्रदेश सरकारका मन्त्री तथा केन्द्रीय सरकारका मन्त्री र विभिन्न दलका शिर्षस्थ नेतासम्म धाउन थालेका छन् ।

प्रहरीले पत्राचार गरेकामा मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु र वर्तमान उपाध्यक्ष प्रकाश मुन्दडाको हिमगिरी सोप एण्ड केमिकल्सदेखि जयश्रीप्युटेक र जयश्री कम्पनीका अनुज पोद्धार, पशुपति सिमप्याक र मूलचनको खल्ली निकासीको श्याम प्याकेजिङका सञ्चालक, जगदम्बा, निगाले, मारुती सिमेन्टका आयातकर्ता साथै आरती स्ट्रिप्सका सञ्चालकत्रय संजीव र अश्विनी शर्मा तथा बिशाल गुप्ता समेतको नाममा रहेको छ ।

यसैगरी भन्सारमै बसेर औषधी लगायत विभिन्न मालवस्तुको क्यिरिङ्ग गर्दै आएका एकजना भन्सार एजेन्टलाई समेत प्रहरीले विशेष निगरानी बढाएको छ । दोहोरो नागरिकता लिएर अमेरिका तथा नेपालमा कारोबार गर्दै आएको आशंकामा उनीमाथि समेत निगरानी बढाइएको हो ।

भन्सार एजेन्टको नेतृत्वकर्तासम्म पुगेका उनले दुईथरी नागरिकता लिएको र एउटा नागरिकता प्रयोग गरेर अमेरिकामा फ्लाट किनेर सिफ्टको तयारीमा रहेको बुझिएको छ । एउटा नागरिकताले नेपालका बैंक तथा वित्तिय संस्थामा कारोबार गर्ने तर पारिवारिक पृष्ठभूमि नखुलाउने तर त्यहि व्यक्तिले आफ्नी श्रीमतीको नाममा अमेरिकामा कारोबार गर्ने गरी अपार्टमेन्टमा फ्लाट किनेको देखिएको छ ।

अमेरिकामा सिफ्टका लागि पेश गरिएको कागजातमा भने नेपालमा कारोबार गरेको कागजात भन्दा फरक परेपछि उनीमाथि प्रहरीले विशेष अनुसन्धान थालेको हो । नाकाबन्दीको समयमा तत्कालिन भन्सार प्रमुख कृष्ण बस्नेत हुँदादेखि नै उनले भन्सार छलेको देखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.