Websoft University

१० करोड ८४ लाख राजश्व रकम भन्सार एजेन्टले नबुझाए पछि खैला बैला हुँदै,


विराटनगर, फागुन ३ गते । रातो तारा डट कम,विराटनगर भन्सार कार्यालयमा मालवस्तु आयात गरेको महशुल वापतको १० करोड ८४ लाख राजश्व रकम भन्सार एजेन्टले नबुझाएको पाइएपछि अहिले खैलाबैला मच्चिएको छ । 

करिब बीस दिनअघि भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहराले विभिन्न कम्पनीको मालसामान क्लियरिङ गर्दा विराटनगर भन्सार कार्यालयमै  रहेको राष्ट्रिय वाणिज्य बैंकमा पेश गरेको चेक बाउन्स भएको थियो । यो प्रकरणपछि विराटनगरका दुई भन्सार एजेन्ट सम्पर्कविहीन छन् । उनीहरुले जम्मा गरेको चेकको भउचर भन्सार कार्यालय बुझाइएपनि सो रकम राजश्वमा दाखिला नभएको पाइएकोपछि घटना सार्वजनिक भएको हो । 

सो घटना सार्वजनिक भएपछि पनि तत्कालै रकम बुझाउने प्रयत्न सम्बन्धित माल आयातकर्ताहरुले गरेपनि त्यो सम्भव नभएपछि घटना सार्वजनिक हुन थप मद्धत पुगेको थियो । क्लियरिङ एजेन्ट ललित बोहरा र सुरेश बोहराले एक पटक एक करोड ८४ लाख बुझाएपनि थप रकम बुझाउन सकेका छैनन् । 
  
बाणिज्य बैंक ब्रान्च अप्रेसन विभाग काठमाडौका उपप्रमुख नारायण सुवेदीले घटनाको विषयमा जानकारी भएको र आफूहरुले अनुसन्धान सुरु गरिसकेको बताए । उनले भने,‘हामीले अनुसन्धान सुरु गरेका छौं छिट्टै थाहा हुन्छ ।’ उनले बैंकले आफ्नै विधि र प्रक्रियाअनुसार अनुसन्धान थालेको र शंकाको घेरामा बैंक कर्मचारीसमेत रहेको बताए ।  
को हुन बोहराद्वय ? 
विराटनगरस्थित सात घुम्तीमोडमा घर भएका बोहराद्वय विराटनगरका नाम चलेका उद्योगी व्यवसायीको क्लियरिङ गर्ने एजेन्ट हुन । मोरङ व्यापार संघका निवाचित सदस्य ललित बोहरा भन्सार सहजीकरण गर्ने व्यक्तिका रुपमा व्यापार संघले तोकेको छ । उनीसँगसँगै भूषण गु्रपको आरती स्ट्रिप्स, मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजूको हिमगिरी सोप एन्ड केमिकल्स, अनुज पोद्धारको जयश्रीप्युटेक उनैको जयश्री कम्पनीको पनि क्लियरिङको काम गर्दै आएका थिए । साथै उनीहरुले पशुपति सिमप्याक, मूलचनको खल्ली निकासीको श्याम प्याकेजिङ, जगदम्बा सिमेन्ट,निगाले,मारुतीलगायतका कम्पनी लगायतको क्लियरिङको काम गर्दथे । उनीहरुले आरती स्ट्रिप्स कम्पनीको काम गर्दा भन्सारलाई नजराना दिंदै काम गर्दै आएको स्रोतको दाबी छ । 

सामान्य रुपका बोहराहरु विराटनगरमा पछिल्लो समयमा क्लियरिङ एजेन्टबाट राम्रो पैसा कमाउनेमा पर्दथे । उनीहरुले काम गरेका कम्पनीमध्ये कुनकुन कम्पनीको पैसा बैंकमा बुझाउँदा बाउन्स भएको हो भन्ने यकिन विवरण  छैन । 

मिलाउने चलखेल
 
विराटनगरका उद्योगी व्यवसयाीलाई यो घटनाको विषयमा करिब दश दिनदेखि थाहा भएको थियो । उनीहरुले नगद ठूलो रकम बुझाउन नसकेका कारण प्रकरण सार्वजनिक हुन मद्दत पुगेको हो । यो प्रकरण मिलाउनका लागि उद्योगी व्यवसायी महेश जाजूको नेतृत्वमा समूह परिचालित भएको स्रोतको दाबी छ । एकजना पत्रकारले नाम उल्लेख नगर्ने सर्तमा जाजूले आफूलाई समाचार नलेख्न अनुरोध गरेको बताए ।  

मिडियामा रोक्ने प्रयत्न
 
विराटनगरका नाम चलेका उद्योगी व्यवसायीले पत्रकारहरुलाई समाचार नलेखिदिन आग्रह गर्दै आएका 
छन् । उद्योगी जाजूले केही पत्रकारलाई समाचार नलेख्न आग्रह गरेको एक पत्रकारले बताए । मारवाडी समुदायको राजश्व छलिको समाचार प्राय विराटनगरबाट कम आउने 
गर्छ ।  

भन्सारको भनाई 
 
यो कान्डमा विराटनगर भन्सार कार्यालयसँग सम्बन्धित नरहेको विराटनगरका भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताएका छन् । उनले भन्सार राजश्व बैंक ग्यारेन्टीको आधारमा दाखिला हुने भएकोले बैकलाई कुनै पार्टीले दिएको चेक वा नगदको बारेमा आफूहरुलाई थाहा नहुने बताउँदै भने,‘त्यो बैंकको जिम्मेवारी हो हामीले बैंक ग्यारेन्टी र भौचर हेर्छौ ।’ 

प्रहरीको भनाई
 
यसैबीच प्रहरीले रानीस्थित वाणिज्य बैंकमा कार्यरत तोरण राउतलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ । तर, प्रहरीले भने त्यसलाई पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले यस विषयमा आफूले केही बोल्न नसक्ने बताउँदै भोलि जिल्ला प्रहरी कार्यालयले नै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।   कोशी अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.