विराटनगर, पुस २६ गते । रातो तारा डट कम,विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–५ मा निर्माण भइरहेको नालामा गुणस्तरहीन सामान प्रयोग गरेको पाइएको छ । निर्माण भइरहेको नालामा कमसल सामग्री प्रयोग भएपछि स्थानीयबासीले निर्माण कार्य रोकेका छन् ।
सडक विभागले निर्माण गरिरहेको विराटनगर–इटहरी सडकखण्डको विराटनगर–५ मा निर्माण भैरहेको नालामा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको छ । उपभोक्तावादी संस्थाहरुले बारम्बार गुणस्तरहीन काम भएको भन्दै सम्बन्धीत पक्षलाई सचेत गराए पनि काम भने उस्तै छ । नाला निर्माण गर्दा इँट्टा भिजाउने र पर्खाल बनीसकेपछि पनि पानी हालेको पाइएको छैन् । यस्तै बालुवा र सिमेन्टको मात्रा सही रुपमा प्रयोग गरिएको नपाइएको उपभोक्ता हित संरक्षण मञ्चले जनाएको
छ ।
यता स्थानीयबासीले भने काम गुणस्तरीय नभएको र बन्न नपाउँदै भत्किएको बताएका छन् । सडक विभागका सुपरभाइजर भोला रिजाल र स्थानीयबासीबीच भनाभन भएको छ । गुणस्तरीय काम भएको छैन भनेर स्थानीयले काम रोक्न आग्रह गरेपछि रिजालसँग भनाभन भएको हो । उनले पानीको टयाङकर विग्रेकाले पानी हाल्न नसकिएको बताए ।
यस्तै सडक विभागका प्राविधिक सुजीत चौधरीले काम गुणस्तरीय हुन नसकेको स्वीकार गरे । उनले ट्याङकर विग्रेकाले पानी हाल्न नपाएको, बालुवा र सिमेन्टको मात्रा पनि नमिलेको बताए ।
विकास निर्माणमा लापरबाही गर्नेलाई कडाभन्दा कडा कारबाही गरी मापदण्डअनुसार निर्माण कार्य अगाडि बढाउनु आवश्यक छ ।
Post a Comment