Websoft University

‘ढुक्क भएर मतदान गर्नुस्, सुरक्षाको प्रबन्ध मिलाइएको छ’: रक्षामन्त्री

काठमाडौँ, मंसिर १० गते । रातो तारा डट कम, रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचनविरोधी गतिविधिमा चन्द समूहले बम आतंक मच्चाएको उल्लेख गर्नुहुँदै जनताको जीउधनको सुरक्षाका लागि सरकारले सबै प्रबन्ध मिलाएको बताउनुभयो ।

“निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्, निर्वाचन बिथोल्न खोज्ने समूहका नेतालाई सुरक्षा संयन्त्रले खोजी गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्” –उहाँले भन्नुभयो ।

संविधान ल्याउन चन्द समूहको पनि भूमिका भएकाले वार्ता गर्न चाहेमा चुनावपछि टेबलबाटै समस्या समाधान गर्न सकिने मन्त्री प्रधानको भनाइ थियो । भोलि आइतबार हुने निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उल्लेख गर्नुहुँदै उहाँले ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।

“ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, आफ्नो अमूल्य मत दिनुहोस्, मत हाल्दा विवेक प्रयोग गर्नुहोस्” –मन्त्री प्रधानले भन्नुभयो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार २४ सै घण्टा खटिरहेको उहाँले सुनाउनुभयो ।

निर्वाचन बिथोल्न चाहने तत्व दुई हजार संख्याको सूची बनेको जानकारी गराउनुहुँदै अहिलेसम्म करिब ५०० जनालाई गिरफ्तार गरिसकिएको मन्त्री प्रधानले बताउनुभयो ।

पहिलो चरणमा हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाको निर्वाचनमा २८ हजार ८२६ नेपाली सेना खटिने जानकारी पनि उहाँले दिनुभयो । दुवै निर्वाचनका लागि ६४ हजारभन्दा बढी सेना रक्षा मन्त्रालयले खटाउन लागेको छ ।

नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत निर्वाचनमा खटिँदै छन् । हवाई अनुगमन भैरहेकाले सुरक्षाको सम्पूर्ण व्यवस्था चुस्त रहेको उहाँको भनाइ थियो ।
सरकारले चारवटै सुरक्षा निकायका प्रमुखसँग यसअघि नै छलफल गरिसकेकाले त्यसैअनुसार योजना बनाइएको जनाएको छ ।

गणतन्त्रलाई संस्थागत गर्न काँग्रेसकै नेतृत्व आवश्यक
यसैबीच मन्त्री प्रधानले बहुलवादलाई शुरुदेखि नै राजनीतिक एजेण्डा बनाउँदै आएको नेपाली काँग्रेस संसदीय व्यवस्थामा विश्वास नगर्ने तत्कालीन नेकपा(माले) र सशस्त्र विद्रोहमा लागेको नेकपा(माओवादी) लाई संसदीय मूल धारमा ल्याउन सफल भएको र गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेसकै नेतृत्व आवश्यक भएको बताउनुभयो ।

लोकतान्त्रिक बुद्धिजीवीहरुको भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सत्ता कब्जा गर्ने उद्देश्यका साथ एमाले र माओवादीबीच गठबन्धन भएको आरोप लगाउँदै उहाँले यसलाई नेपाली जनताले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पूरा हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री समेत रहनुभएका मन्त्री प्रधानले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति भएकाले निर्धक्कपूर्वक मतदाताले मतदान गर्न पाउने छन् भन्नुभयो ।

काभे्रस्थलीमा आयोजित चुनावी कोणसभामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव तिमिल्सिनालगायत एमाले, राप्रपा पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएका नेता, कार्यकर्ताहरुलाई स्वागत गर्दै काठमाडौं क्षेत्र नं ६ का उमेदवारसमेत रहनुभएका मन्त्री प्रधानले निर्वाचनपछि पनि काँग्रेस नै पहिलो पार्टी बन्ने र यसले नै सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.