विराटनगर,असोज २८ गते । रातो तारा डट कम,
उपराष्ट्रपति नन्दबहादुर पुनले स्काउट ज्याम्बोरेटमार्फत बालबालिकालाई राष्ट्रहितप्रति समर्पित गर्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
तेस्रो क्षेत्रीय स्काउट ज्याम्वारेट–२०७४ को हिजो विराटनगरको महेन्द्र मोरङ क्याम्पसको परिषरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्काउटको माध्यमबाट बालबालिका अनुशासित, साहसिक, स्वावलम्बी, सिर्जनशील हुनाका साथै बालबालिकामा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटनसमेत हुने गरेको छ ।”
हालै सम्पन्न स्थानीय तहको निर्वाचन उत्साहजनक रुपले सम्पन्न भएकामा खुशी व्यक्त गर्दै उहाँले सिंहदरबारको अधिकार जनतामा पुगेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले संघीय र प्रदेशसभाको निर्वाचन उत्सवका रुपमा सम्पन्न गर्न सबै दललाई सक्रिय सहभागिता जनाउन र मतदातालाई आ–आफ्ना मत प्रयोग गर्न आह्वान गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले युवामा रहेको विकृति र विसंगति हटाई असल नागरिक बनाउन स्काउटले शिक्षित गर्ने गरेको बताउँदै स्काउटको १ नं प्रदेश कार्यालय स्थपनामा महानगरपालिका सदैव सहयोगी हुने बताउनुभयो ।
नेपाल स्काउटका केन्द्रीय आयुक्त रविन दाहालले बालबालिकाको सर्वाङ्गीण विकास गराई सक्षम नागरिक बनाउन तथा विपद्मा सहयोगको भावना जागृत गराउनु नै स्काउटको स्थापना भएको जानकारी दिनुभयो ।
सो अवसरमा उपराष्ट्रपति पुनले क्षेत्रीय ज्याम्बोरेट संयोजक नवलप्रसाद उपाध्यायलाई विपद् व्यवस्थापनमा सहयोग पु¥याएकाले अभिनन्दनपत्रवाट सम्मानित गर्नुभयो
उपराष्ट्रपति पुनले महेन्द्र मोरङ प्राङ्गणमा स्थापना गरिएको ४० देशबाट हुने विपद् व्यवस्थापनामा गरिने कार्यको समेत अवलोकन गर्नुभयो । पाँच दिनसम्म चल्ने क्षेत्रीय ज्याम्वारेटमा ३५ जिल्लाका १२ देखि १६ वर्ष उमेरका चार हजार बालबालिकाको सहभागिता रहेको छ । नेपालमा २००९ सालमा स्काउटको स्थापना भएको हो भने हाल यसमा ६० हजार सदस्य रहेका छन् ।
यसअघि २०५९ सालमा धरान र २०६९ मा झापाको दमकमा क्षेत्रीय ज्याम्बोरेट सम्पन्न भएको थियो ।
Post a Comment