Websoft University

मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव



चितवन असोज १३ गते । रातो तारा डट कम, वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय, चितवनका प्रमुख डा डिल्लिराम सेढाईं रोगी पशुको मासु खाएमा यसले दीर्घकालीन हानि पु¥याउनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ । सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका पशु रोगी हुने हुँदा त्यस्ता पशुको मासु खानु हँुदैन । कतिपय रोग पशुचौपायाबाट मानिसमा सर्ने उहाँले बताउनुभयो ।

क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खान सेढाईंले सुझाव दिनुभयो ।

त्यसो त पशुचौपाया बध गरेपछि निरोगी भए पनि पकाउँदा ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख्यरुपमा पोलेका, तारेका, केमिकलको प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुनसक्ने उनीहरुको भनाइ छ ।

क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् । विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सेवा गरेर हालै मात्र निवृत्त हुनुभएका डा भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक उत्पादन गर्ने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने बताउनुहुन्छ । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उहाँले सुझाव दिनुभयो ।

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर केमिकल मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उहाँले बताउनुभयो ।
त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलगअलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने डा रौनियारले बताउनुभयो । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने उहाँको भनाइ छ ।

पछिल्लो समय युवापिँढीमा कोलोरेक्टल क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको रौनियारले बताउनुभयो । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै रहेका छन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछन् ।

चुरोटले अन्ननलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने उहाँको भनाइ छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने रौनियारको सुझाव छ । उहाँले मासु बढी खाँदा, रेसादार खाद्य वस्तुको प्रयोग बढाउनुपर्ने बताउनुभयो । फलफूल, सागसब्जी बढी खानुपर्ने बताउँदै उहाँले पाएसम्म ब्रोकाउलीको प्रयोग बढाउन सुझाव दिनुभयो ।
मासुको खपत कम गर्न पनि उहाँ सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “सम्भव हुन्छ भने मासु नखाँदा नै राम्रो हुन्छ, तर खानैपर्ने भएमा पनि माछा र कुखुराको जस्तो सेतो मासु खानु राम्रो हो ।”

मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढीमात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुने चिकित्सकको भनाइ छ ।

भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउनुहुन्छ । हामीले मासु खानैपर्दा ताजा खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने उहाँले बताउनुभयो । फ्रिजमा राख्दा कडा संक्रमण फैलिनसक्ने उच्च खतरा हुने बताउँदै उहाँले भुटेर राख्दा किटाणुविहीन भएपनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने उच्च खतरा हुने बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।” उहाँले मासु खाँदा प्रशस्त फलफूल खानुपर्ने बताउँदै बनाएर राखिएको फलफूलको सलाद नखान सुझाव दिनुभयो । मासु एक्लैलेभन्दा यसका साधन र साध्यका रुपमा मदिरा र धूमपान अरु खतरनाक हुने उहाँको भनाइ छ । अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने अधिकारीले बताउनुभयो ।

यसले गर्दा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा विशेष ध्यान दिन सुझाव दिनुभयो । पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भन्दै स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभयो । दशैँमा बढी खसीको मासु प्रयोग गरिन्छ जसमा खराब कोलेस्टोरलको मात्रा बढी हुने पनि उहाँले बताउनुभयो । नेपालमा अन्य समयमा आवश्यकमात्रामा मासु नखाने भए पनि दशैँका बेला ऋणधन गरेर भएपनि मासु खानैपर्ने र धेरै खाने पुरानो प्रचलन कायमै रहेको छ ।
स्वदेशमै उत्पादन बढाउन सकिने कुखुरा र माछाभन्दा बढी आयात गरेर निर्भर हुनुपर्ने खसीबोका, राँगा, बंगुरको मासुको खपत अधिक हुने गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.