काठमाडौं,बैशाख १ गते । २०७४, रातो तारा डट कम-पूर्व सँस्कृतिमन्त्री गोपाल किराँतीले आगामी १० वर्षभित्र पशुपतिनाथ मन्दिरमा मूल भट्ट पुजारी नेपाली नै नियुक्त गर्ने दाबी गरेका छन् ।
पशुपतिनाथ मन्दिरलाई भारतीय विस्तारवादको साँस्कृतिक अखडा बनाइएको भन्दै उनले पशुपतिमा राष्ट्रियताको लडाईं जारी रहेको बताए ।
पशुपतिनाथ मन्दिरको पहिलो नेपाली मूल भट्ट पुजारी डा. विष्णु दाहालको पुस्तक ‘पशुपतिमा सात दिन’ लोकार्पण कार्यक्रममा किराँतीले पशुपतिमा नेपाली पुजारी नियुक्तिका लागि माओवादी केन्द्रले पहल गर्ने बताए ।
डा. दाहाल र शालिकराम ढकाल ०६५ पुस १७ गते पशुपतिनाथ मन्दिरको पुजारी बनेका थिए । तर, भारतीय मूल पूजारीलाई हटाएर नेपाली पुजारी नियुक्त गरिएको भन्दै भारतसहित नेपाली कांग्रेस र नेकपा एमालेले विरोध गरेपछि प्रचण्ड नेतृत्वको तत्कालीन सरकार पछि हट्न बाध्य भएको थियो ।
त्यसपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका सँस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालले भारतीय मूल भट्टलाई नै पुनर्नियुक्त गरेका थिए ।
भारतीय मूल भट्ट महाबलेश्वरले राजीनामा दिएपछि डा. दाहाललाई पशुपतिनाथको मूल पुजारी नियुक्त गरेका तत्कालीन सँस्कृतिमन्त्री किराँतीले भने, ‘बिग्रेको पार्टी माओवादीलाई सुधार्दै झन् बलियो बनाइँदैछ ।
जनताले सही स्थान दिए भने हाम्रो पहलकदमीमा नेपाली ब्राम्हणको सम्मान गर्ने काम हुन्छ र पशुपतिनाथमा मलाई लाग्छ ढीलोमा १० देखि १५ वर्ष बीचमा नेपाली ब्राम्हण पुजारी हुन्छ र त्यो बनाएर छोडिन्छ ।’
Post a Comment