Websoft University

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु



काठमाडौं, फागुन २६ गते । रातो तारा डट कम-
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको घटनाबारे भारतसँग जवाफ माग्नुपर्ने नेपालका राजनीतिक दलहरुले नेपाल सरकारसँग माग गरेका छन् ।

सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न पनि दलहरुले सरकारलाई सुझाव दिएका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्दबजारमा बिहीबार एसएसबीको गोली प्रहारबाट ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । भारतीयहरुको ढुंगा प्रहारबाट नेपाली प्रहरीसमेत घाइते बनेका छन् ।

एसएसबीका जवानले स्थानीयको घरमा तोडफोड र लुटपाटसमेत गरेका छन् । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाएको थियो ।

गौतमलाई सहिद घोषणा गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एसएसबीको गोली लागेर मृत्यु भएका गौतमलाई शहिद घोषणा गर्न माग गरेको छ ।
सीमा क्षेत्रमा नेपाली मारिँदासमेत मौन बसेको भन्दै एमालेले सरकारको आलोचना गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘देशभक्तिको कुरा गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरुलाई खोक्रो राष्ट्रवादी भनेर होच्याउनेहरु आज सीमानामा नागरिक मारिँदा प्रतिक्रियाविहीन बनेका छन् । सरकारले तत्काल यसबारे आपत्ति जनाएर भारतीय पक्षको जवाफ माग्नुपर्छ ।

नयाँ शक्ति र जनमोर्चाको आपत्ति
यसैगरी नयाँ शक्ति नेपालले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
नेपाली नागरिक गौतमको मृत्यु भएको घटनाको घोर भत्र्सना गर्दै नयाँ शक्तिले मृतकप्रति श्रद्धाञ्जली एवं मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना नेपाल-भारत सीमा क्षेत्रमा विद्यमान विवादकै परिणामस्वरुप भएको घटना हो । नेपाल-भारत सीमा क्षेत्रमा यस्ता धेरै विवादका विषयहरु विद्यमान छन् जसको स्थायी समाधानका लागि सरकारले ठोस पहल गरेको छैन ।

सरकारले तत्काल कुटनीतिक पहल गरी सीमा समस्याको समाधान गर्नुपर्ने नयाँ शक्तिको माग छ ।
यसैगरी चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाले पनि एसएसबीले कञ्चनपुरमा गरेको ज्यादतीको निन्दा गर्दै देशव्यापी विरोध गर्ने घोषणासमेत गरेको छ ।

अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय विस्तारवादको उक्त ज्यादतिको विरोधमा हाम्रो पार्टीले कञ्चनपुरसहित देशका विभिन्न जिल्लाहरुमा विरोध कार्यक्रम गर्ने ठेगान गरेको छ । कार्यक्रमलाई सफल पार्न र भारतीय विस्तारवादको भण्डाफोर गर्नको निम्ति हामी सम्पूर्ण जनतासँग अपील गर्दछौं ।

जनमोर्चाको विज्ञप्तिमा थप लेखिएको छ, ‘साथै भारतीय विस्तारवादलाई नेपाली सीमामा आपराधिक कार्य, सीमा अतिक्रमण, हस्तक्षेप र ज्यादति तुरुन्त बन्द गर्न हामी जोडदार माग गर्दछौं । जनमोर्चाले मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

युवा विद्यार्थी आन्दोलित
यसैवीच सत्तारुढ नेकपा माओवादी केन्द्रका युवा संगठन वाईसीएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुर घटनाविरुद्ध राजधानीसहित देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । वाईसीएलले बिहीबार साँझ र क्रान्तिकारीले शुक्रबार बिहान काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् ।

सत्ता पक्ष बोलेन, नारायणकाजीले मुख खोले
कञ्चनपुर घटनाबारे सत्तारुढ माओवादी र नेपाली कांग्रेसले विहीबार साँझसम्म कुनै औपचारिक वक्तव्य निकालेका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले यो समाचार तयार पार्दासम्म कञ्चनपुर घटनाबारे मुख खोलेको छैन ।

यद्यपि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने घटनालाई ‘भारतीयको ज्यादती’ भनेका छन् । श्रेष्ठले सरकारलाई तुरुन्त यसबारे भारतसँग वार्ता गर्न भनेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले ट्वीटरमार्फत् आफ्नो धारणा सार्बजनिक गरेका हुन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतीय आक्रमणबाट नेपाली मारिएको घटनाबारे मधेसी मोर्चामा आवद्ध कुनै पनि दलले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

विप्लव माओवादीले गौरीफन्टा नाका बन्द गराए
आनन्दबजारमा भारतीय सुरक्षा फौजको गोली लागी एक नेपालीको मृत्युभएपछि विप्लव माओवादीका कार्यकर्ताले कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु गरेका छन् ।

विप्लवका कार्यकर्ताले बिहीबार साँझ गौरीफन्टा नाका अन्तरगतको श्रीनगर भन्सार बन्द गराएका छन् । उनीहरुले जिल्लाका विभिन्न भागमा विरोध प्रदर्शन गर्दै भारतविरुद्ध नाराबाजी गरेका छन् । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.