बिराटनगर,पुस २ गते । चीनबाट सामान झिकाउने कामलाई तीव्र पार्ने क्रममा अब प्रत्येक दुई हप्तामा ठूलो परिमाणमा सामान बोक्न सक्ने 'कार्गो' रेलको प्रयोग गर्ने समझदारी गरेको नेपाली व्यापारीहरुले बताएका छन्।
चिनियाँ सरकारले समेत सहयोग गरिरहेको बताएका व्यापारीहरुले ढुवानी भाडादर महंगो हुने भएपनि छरितो सेवाका कारण उत्तरी मार्गमा व्यापारीहरुको ध्यान बढ्ने विश्वास गरेका छन्।
एक हजार टन सामग्री बोक्न सक्ने 'कार्गो' रेलको प्रयोग यो हप्ता भइसकेको छ।
भारतको बाटोबाट ल्याउनुभन्दा आधा समयमा सामान नेपाल आइपुग्ने भएकाले 'कार्गो' रेलबाटै सामान झिकाउन थालेको व्यापारीहरु बताउँछन्।
समय बचत
नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बडालले भने, " अब सामानहरु पहिले भन्दा छिटो आउँछ। रेलबाट सामान हालेर ल्याउँदा पनि पहिले १२ देखि १५ दिन लाग्थ्यो भने अब ७ दिनमा केरुङ् आइपुग्छ। उपभोक्ताहरुले पनि अब सुपथ मूल्यमा सामान पाउनेछन्।"
उनका अनुसार चीन सरकारले पनि त्यसको लागि व्यापारीहरुलाई सघाइ रहेको छ। नेपाली र चिनियां व्यापारीहरु मिलेर चीनको व्यापारिक केन्द्र ग्वाङ्जाउमा 'कार्गो कम्पनी' स्थापना भइसकेको पनि बडालले बताए।
'कार्गो' रेलको उद्घाटन समारोहमा पुगेका ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले 'वान वेल्ट, वान रोड'को अवधारणा अनुसार नेपाललगायत दक्षिण एसियामा व्यापार प्रवर्द्धन गर्न निकै चासो दिएको बताए।
जोड
रेल मार्गमा चीनले जोड दिएको बताउँदै उनले भने, "यो कार्गो रेल नेपाल, दक्षिण एसिया र तिब्बतमा व्यापार, सम्पर्क र यताको मान्छेको जीवनस्तर सुधार गर्न एउटा महत्वपूर्ण कदम भनेर तिब्बतका प्रान्तीय नेताहरुले बताएका छन्।"
चिनियां 'कार्गो' रेलमार्फत सामान ल्याउने क्रम बढ्ने विश्वास व्यापारीहरुको छ।
तर त्यसको लागि केरुङ्देखि धादिङको गल्छीसम्मको नेपाली बाटो भने राम्रो बनाउनुपर्ने माग उनीहरुले राखेका छन्, जुन सडकलाई दुई लेनको पक्की बनाउने काम सरकारले अगाडि बढाइसकेको छ।
हाल नेपाली व्यापारीहरुले चिनियां सामान समुद्रीमार्ग हुंदै भारतको कोलकाता र विशाखापट्नम ल्याउंछन्।
त्यहांबाट रेल र ट्रकहरुमा नेपालमा सामान भित्र्याइन्छ।
बीबीसी नेपाली सेवाबाट
बीबीसी नेपाली सेवाबाट
Post a Comment