Websoft University

एमाले विवाद फेरि सतहमा

काठमाडौँ, जेष्ठ १२ गते । एमालेमा केपी ओली र माधव नेपाल समूहबीचको तीव्र मनमुटाव फेरि सतहमा आएको छ । संगठनात्मक कार्यशैलीलाई लिएर दुई पक्षबीच झगडा चुलिएको हो ।




झन्डै एक महिनाअघि राजधानीको एक पार्टी प्यालेसमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा एमालेको केपी ओली समूहले आफूनिकटको भेला गरेको थियो ।

ओली समूहको उक्त भेलाप्रति तीव्र असन्तुष्टि जनाएको नेपाल समूहले मंगलबार राजधानीकै एक पार्टी प्यालेसमा मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा त्यस्तै भेला गर्‍यो । बुधबारसम्म चल्ने भेलामा यसअघि ओली समूहले गरेजस्तै जिल्ला–जिल्लाका झन्डै ३ सय अगुवा प्रतिनिधि सहभागी थिए ।

‘संविधानको कार्यान्वयन : राष्ट्र र पार्टी निर्माण’ राष्ट्रिय कार्यशाला नाम दिइएको भेलामा महाधिवेशन ताका मौन बसेका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए ।

उद्घाटन सत्रमा वरिष्ठ नेता खनाल र नेता नेपालले अध्यक्षको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यही शैलीलेपार्टी अघि बढ्न नसक्ने बताए । पार्टीभित्रको असन्तुष्टिले जुनसुकै बेला विस्फोटको रूप लिन सक्ने अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई चेतावनी दिए ।

‘पार्टीमा गम्भीर अविश्वासमात्र होइन, अनुचित काम भइरहेका छन्,’ नेता नेपालले भने, ‘पार्टीभित्र ठूलो असन्तुष्टि छ, कुन बेला विस्फोट हुन्छ थाहा छैन ।’

अध्यक्ष ओली र उनको समूहले एकलौटी ढंगले पार्टीको काम गरिरहेको र सरकार सञ्चालनमा पनि मनलाग्दी गरिरहेको आरोप नेपाल समूहको छ । नेता नेपालले गुटबन्दीका लागि पार्टीका सदस्यहरूको नाम नै फेरबदल गरिदिनेसम्मको गम्भीर कार्य संगठन विभागबाट भइरहेको भन्दै आपत्ति जनाए ।

‘संगठन विभागबाट पार्टी सदस्यको नाम नै फेरबदल भएको छ, पार्टी सदस्यता आफूखुसी मनलाग्दी बाँड्ने गरिएको छ,’ नेता नेपालले भने, ‘कमसेकम मुख्य नेताहरूबीच त छलफल हुनुपर्छ त्यो पनि छैन, ‘टोटल्ली बाइपास’ गर्न खोजिएको छ ।’

उनले कार्यकर्ताहरूलाई विभिन्न आश्वासन र धम्कीसमेत दिएर अघि बढ्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए । ‘जनवर्गीय संगठन र जिल्लाहरूमा समेत पैसाको चलखेल भइरहेको छ,’ नेपालले भने, ‘सरकारको चरम दुरुपयोग भएको छ ।’

नेपाल समूहमा मात्र आबद्ध नेता, सांसद र प्रतिनिधि रहेको कार्यक्रममा नेपालले महाधिवेशनमा भोट नदिएको नाममा कार्यकर्तालाई फरक व्यवहार गर्ने गरिएको दाबी गरे । ‘वार्निड बेल बजेको छ,’ नेनेपालले चेतावनी दिँदै भने, ‘के हुन सक्छ, ध्यान दिएर अघि बढ्नुहोस् ।’

खनालले पनि ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै नवौं महाधिवेशनपछि अहिलेसम्म ‘बैठक भन्न लायक’ पार्टीका कुनै पनि बैठक नबसेको आरोप लगाए ।

‘केन्द्रीय समिति औपचारिक रूपमा मात्र बस्छ, त्यहाँ छलफल हुन पाउँदैन, एउटै गतिलो निर्णय भएको छैन, भएका निर्णय पनि कहाँ हुन्छन् थाहा हुँदैन,’ नेता खनालले भने, ‘पार्टीको नेतृत्व भनेको सिंगो केन्द्रीय समिति हो, कुनै एउटा व्यक्तिमात्र होइन, कमिटी प्रणाली साह्रै कमजोर बनाइएको छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए । त्यो नभए राष्ट्रिय मुद्दाहरूमा एकताबद्ध हुने वातावरण तयार गर्न पार्टीले सक्नुपर्ने धारणा राखे । उपमहासचिव घनश्याम भुसालले ‘कम्युनिस्ट आन्दोलन : अबको बाटो (नेकपा एमालेका सन्दर्भमा एक छलफल) नामक कार्यपत्र पेस गरेका थिए ।

कार्यपत्र पेस गर्ने क्रममा पार्टी पद्धतिमा विकृत बन्दै गएको र वैचारिक सैद्धान्तिक रूपमा कमजोर बन्दै गएको टिप्पणी गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.