शिव भट्टराई,मोरङ असोज १९ गते । रातो तारा डट कम , सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा रहेको प्रहरी चौकी गछियाले विजया दशमी,तिहार तथा छठ पर्वलाई मध्यनजर गरी वडा एरियाको सुरक्षा व्यवस्था सम्बन्धी अन्तरक्रिया साथै नव कार्यलय प्रमुख सँग परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न गरेको छ।
अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरूको निरुपण गर्दै नव कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक दिपीन थापाले वडा एरियामा अपराधीक घटना तथा दुर्घटना हुन नदिई शान्ति सुरक्षा कायम गर्न विशेष योजनाका साथ अघि बढ्ने बताएका थिए।
उनले विशेष सुरक्षा योजना अन्तर्गत लागु औषध सम्बन्धी साथै होटल व्यवसायमा हुने अपराधीक घटनाको नियन्त्रण गर्न स्ट्रिक अप्रेसन गरिने र यो क्षेत्रको शान्ति सुरक्षाको निम्ति आफू कति पनि नचुकी कार्य गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसैगरी उनले नागरिकले उठाएका जिज्ञासा र प्रहरी संगको अपेक्षा, प्रहरीमा आउने सूचना तथा गुनासालाई मध्यनजर राखी शान्ति सुरक्षाको विषयलाई विश्लेषण गर्दै नयाँ योजनाका साथ आगाडि बढ्ने उल्लेख गरे।
कार्यक्रममा सहभागी भएका वडा नं ४, ५,६ र ७ का जनप्रतिनिधिले प्रहरीलाई अपराधीक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई छुटाइदिनु भन्ने खालको राजनीतिक दवावमा नपरी निष्पक्ष कार्य गर्न सुझाव दिएका थिए। उक्त कार्यक्रममा समाजसेवी, महिला अधिकारकर्मी, बुद्धिजिबी, स्थानीय संचारकार्मी लगायतको उपस्थिति रहेको थियो ।



Post a Comment