शिव भट्टराई-मोरङ भाद्र १ गते । रातो तारा डट कम, गछीया÷राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउनु पर्ने बताएका छन् । शुक्रबार मोरङको सुन्दरपुरमा साना किसान तथा समान प्रकृतिका कृषि सहकारी संस्थाहरुको भावी कार्यदिशा सम्बन्धि अन्तक्र्रिया गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष बडालले कृषिलाई आधुनिकीकरण गर्दै कृषिजन्य वस्तु उत्पादनलाई बृहत बनाउनु पर्ने बताए ।
संसद तथा पूर्वमन्त्रीसमेत रहेका बडालले नेपालको प्रमुख उत्पादनको साधन भूमि भएको बताए । उनले अहिलेको परिस्थतिमा टुक्रे उत्पादन बजारमा टिक्न नसक्ने भन्दै आधुनिक र बृहत उत्पादनले मात्र बजारमा स्थान पाउने कुरामा जोड दिए ।
बडालले कृषिलाई आधुनिकीकरण गर्दा वातावरण संरक्षणलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याए थिए । उनले परंपरागत कृषिजन्य उत्पादन भन्दा खोज, अनुसन्धानमुलक कृषि विकासको माग बढिरहेको बताए ।
बडालले कृषिजन्य वस्तुको उत्पादन गर्दा राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारमा जान सक्ने वस्तुको छनौट गर्न किसानहरुलाई सुझाव दिए । कार्यक्रममा सहजकर्ता रुद्र भट्टराईले सहकारी ऐनका सवल पक्षहरुबारे जानकारी दिएका थिए । सो अवसरमा सहकारी खेतीको बिस्तार गर्ने, शित घरहरु निर्माण गर्ने । सबै सदस्य संस्थाहरुलाई कृषि यान्त्रिकरण कृषि सामाग्री, कृषि उपज र उपभोक्ता भण्डार संचालन गर्न लगाउनेजस्ता विषयमा सहभागिहरुलाई प्रशिक्षित गरिएको थियो ।
सहकारी अभियन्ता भट्टराईले साना किसान विकास कार्यक्रमबारेमा प्रशिक्षण दिएका थिए । साना किसान कृषि संस्थागत विकास संगठन ढांचा, कृषि सहकारी सञ्जाल निर्माण, नेपाल कृषि सहकारी केन्द्रीय संघको प्रगति विवरणबारे बताएका थिए । ग्रामीण विकास र गरिवी निवारणमा साना किसान कृषि सहकारी संस्थाको योगदानबारे पनि सो कार्यक्रममा छलफल गरिएको थियो ।
१ नम्बर प्रदेशभरिबाट सहभागि भएका साना किसान सहकारी प्रतिनिधिहरुलाई सहकारी सूचनाबारे अभियन्ता खेमबहादुर पाठकले जानकारी गराएका थिए । उनले २० वर्षसम्म सूचना अद्यावधिक गर्ने पर्ने कुरामा जोड दिए । सूचनामा नागरिकको पहुँच स्थापना गर्ने, सहकारी कार्यालयका सबै काम कम्प्यूटरका माध्यमबाट सम्पादन गर्ने, कामको प्रकृति अनुसार अलग–अलग सफ्टवेयर निर्माण गर्ने, फाईलिङ्ग पद्दतिलाई वैज्ञानिक गर्ने, बर्सेनि प्रगति प्रतिवेदन प्रकाशित गरी संभव भएसम्मका सबै विवरण समावेश गर्नेजस्ता विषयमा साना किसान सहकारी प्रतिनिधिलाई पाठकले आग्रह गरेका छन् ।
त्यस्तै सहभागिको तर्फबाट सुन्दरपुर कृषि सहकारी संस्थाका अध्यक्ष रविन्द्र आचार्यले कृषिको आधुनिकीकरणमा किसानहरुले नै कम्मर कस्नु पर्ने बताएका छन् । उनले दुई दिने कार्यशाला उपलब्धीमुलक भएको बताए । त्यस्तै पाँचथरबाट सहभागि गंगा आङ्देम्बेले कृषि सहकारीमा महिला सहभगिता बढाउनु पर्ने बताइन् । ग्रामीण क्षेत्रका महिलाहरुलाई साना किसान सहकारीमा बढीभन्दा बढी संगठित गर्नुपर्नेमा उनको जोड थियो ।
Post a Comment