मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् ।
जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।
विराटनगरको रानी भन्सारबाट १७ किलोमिटर दूरीमा पर्छ-तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसजगा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ ।’
भारततर्फ बिहार राज्यअन्तर्गत अररिया जिल्लाको सोनामनी गोदाम पर्छ भने नेपालतर्फ चाहिँ जहदा गाउँपालिकाको वार्ड नम्बर ७, तारेगामा बजार पर्छ । दसगजा क्षेत्र कहाँ हो भनेर छुट्ट्याउन सक्ने अवस्था छैन । ‘नो म्यान्स ल्यान्ड’ (निर्जन) भनिने नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस-दस गज खाली छाड्नुपर्ने हो ।
जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबेको पनि सञ्जय साहले बताए । (आजको अन्नपूर्ण पोस्टमा खबर छ )
Post a Comment