काठमाडौ,असोज,२४ गते । रातो तारा डट कम,
चुनावी तालमेल र पार्टी एकीकरणका लागि सहमति गरेको एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणका विषयमा पनि समान धारणा बनाउन छलफल सूरु भएको छ ।
आज सिंहदरबारमा २ दलका प्रमुख नेताहरु राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणका विषयमा समान धारणा बनाउन आपसी छलफलमा जुटेका हुन । संसदको कार्यकाल सकिनै लागेकाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउनेलगायतका मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गरिएको माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जानकारी दिनु भयो ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार मनोनयन भएलगत्तै संसदको कार्यकाल सकिन्छ । त्यस अघि नै राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माण गर्नुपर्ने हुन्छ ।
सोही विषयलाई छिटो टुंगोमा पु¥याउन प्रमुख प्रतिपक्ष एमाले र माओवादी केन्द्रबीच समान धारणा बनाउन आन्तरिक छलफल गरिएको हो । दलहरुबीच एकल वा बहुमतीय कुन प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन गर्ने भन्ने सम्बन्धमा सहमति जुट्न बाँकि छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने दायित्वबाट सरकार पछि नहट्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
२ दलबीच चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र निर्धारण र चुनावी घोषणा पत्र निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालबीच चुनावमा तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमति भएपछि सोही अनुसारको योजना बनाउन कार्यदल स्तरीय बैठक बस्दै आएको छ ।
Post a Comment