Websoft University

क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैन–अध्यक्ष दाहाल



काठमाडौँ, भदौ २८ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी,परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताउनुभएकोछ।

संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उहाँले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तन कामी शक्तिबीच एकता अपरिहार्य रहेको बताउनुभयो ।



अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन ।”मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दतिर संकेत गर्दै उहाँले भन्नुभयो, “केही मान्छेहरु अझै पनि निद्रामा नै छन् । उनीहरु ब्युँझने बित्तिकै एकता प्रक्रिया आउँछन् । जो जहाँ ब्युँझियो, त्यहीँबाट अभियानमा केन्द्रित हुनु जरुरी छ ।”

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले छुट्टाछुट्टै नबस्न निर्देशन दिएको भन्दै उहाँले माओवादी धारामा नै रहेका र त्योभन्दा बाहिर रहेका जुनसुकै शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुनै पर्ने बाध्यतासमेत आइपरेको बताउनुभयो ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अभियान चलिरहँदा तराई मधेसमा माओवादीको पक्षमा उल्लेख्य जनउभार आएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “हिमाल, पहाड तथा तराईलाई एकताबद्ध बनाएर लैजाने शक्ति माओवादी मात्रै हो भन्ने जनस्तरमा स्थापित भएको छ । यसले संघीय र प्रदेश निर्वाचनसम्म पुग्दा माओवादी पुनः बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने अवस्था देखिएको छ ।”

माओवादीले अगाडि सारेको राष्ट्रिय कार्यसूची एवं राष्ट्रिय एजेण्डाका कारण जनउभार आएको भन्दै अध्यक्ष दाहालले साघँुरो सोच र मानसिकता त्यागेर एकीकृत राष्ट्रिय एकताको प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशामा लैजाने उहाँको कथन थियो ।

कार्यक्रममा संघीय समाजवादी फोरमका नेता नवीन रोकाले परिवर्तनकारी एजेण्डा संकटमा पर्ने अवस्था आएको भन्दै आफूहरु एकता प्रक्रियामा आएको र यसलाई तार्किक निष्कर्षमा पु¥याएरै छाडिने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्यूरोका नेता अविरल न्यौपानेले क्रान्तिको नाममा माओवादी आन्दोलन कमजोर पार्ने गतविधिमा नेत्रविक्रम चन्द समूह लागेकाले आफूहरु मूलघरमा फर्किएको बताउनुभयो ।

नेपाल माओवादी पार्टीका अध्यक्ष थमानसिंह सिंहले माओवादी आन्दोलनले उठाएका राजनीतिक एजेण्डालाई पूर्णता दिन सबै क्रान्तिकारी शक्तिबीच एकता प्रक्रिया जरुरी रहेको बताउनुभयो । कार्यक्रममा ती पार्टीका सयौँ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.