
मोरङ, २७ पुष । सरकारको प्राथमिकता र चासोमा नपर्दा ठुलो सम्भावना बोकेको जडिबुटीको उत्पादन तथा प्रबद्र्धन गर्ने कम्पनीहरु ओझेलमा पर्दै गएका छन् । प्रचुर सम्भावना बोकेको यो क्षेत्रलाई सरकारले बजेट लगायतका अत्यावश्यक कुराहरु उपलब्ध नगराउँदा समस्या भईरहेको छ ।
सुनसरीको तरहरामा रहेको जडीबुटी उत्पादन गर्ने कम्पनी अहिले जिर्ण अवस्थामा पुगेको छ । २०५० सालमा स्थापना भएको यो कम्पनीले पुरानै परम्परागत प्रविधि मार्फत जडिबुटि प्रशोधन गर्दै आएको छ ।
कम्पनीलाई आधुनिकीकरण र प्रविधिमैंत्री बनाउन नेपाल सरकारले खासै चासो नदिएका कारण कम्पनी जिर्ण बन्दै गएको जडिबुटि उत्पादन तथा प्रशोसन कम्पनी लिमिटेड तरहराका प्रमुख बखत बहादुर साउद बताउनुहुन्छ ।
यो कम्पनीले तरहरामा २५ हेक्टर र बेलबारी शाखामा ७० हेक्टर क्षेत्रफलमा जडिबुटि खेती गर्दै आएको छ ।
कम्पनीले सिटोनेला, लेमनग्रास, पामारोजा, फ्रेन्च वेसिल, मेन्था, क्यामोमाईल, मसला लगायतका जातको खेती गर्दै आएको छ ।
देश तथा विदेशमा यी जडिबुटिको माग उच्च छ । प्रशोधन गरेको झोल औषधी बनाउन, विभिन्न उच्च स्तरका उत्तर तथा फरफ्युम निर्माणमा प्रयोग हुन्छ ।
यस्तै यी जडिबुटिको सुगन्धका लागि उच्च ब्राण्डका पेय पदार्थमा पनि प्रयोग गर्न विदेशमा ठुलो माग रहेको छ ।
बार्षिक ५ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आएको कम्पनीका प्रमुख साउद बताउनुहन्छ । तर यो लक्ष्य अनुसार पनि उत्पादन हुन सकेको छैन । बार्षिक रुपमा ४ मेट्रिक टन सम्म उत्पादन हुँदै आएको छ ।
मल, विऊ, सिचाईको उचित प्रवन्ध गरी खेती गर्न सके दुई शाखामा बार्षिक ८ टन सम्म उत्पादन गर्न सकिने प्रमुख साउदको भनाई छ । तर बार्षिक रुपमा उत्पादनको परिमाण घटदै गएको छ ।
रोजगारी सृजना हुने र आम्दानी हुने यस्ता क्षेत्रमा सरकारको ध्यान जान सकेको देखिदैन । आफ्नै देशको सम्भावनालाई लत्याएर सरकारले नै बिदेशी बस्तुको प्रचारमा गर्नु देशकै हित विपरित हुने सर्बसाधारणको बुझाई छ । तर्सथ यस्ता क्षेत्रहरुमा सरकारले लगानी बढाउन आवश्यक छ ।
Post a Comment