काठमाडौं, २२ मंसिर ।
हवाइ इन्धनको मूल्य घटेपछि आजदेखि लागू हुने गरी हवाई भाडा घटाइएको छ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर ८ रुपैयाँ घटाएपछि वायु सेवा संचालक संघ (आयोन) ले आन्तरिक रुटको हवाई भाडा अन्तर्गत घटेको भाडा आजदेखि लागु हुने गरी समायोजन गरेको हो ।
मुख्य रुटमध्ये सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडामा ३ सय १० रुपैयाँ फ्युल सरचार्ज घटेको छ । त्यस्तै सबैभन्दा थोरै काठमाडौं सिमरामा ९० रुपैयाँ घटेको छ । नेपालमा आन्तरिक एयरलाइन्सले फेयर, यात्रु सेवा शुल्क (प्राधिकरणलाई तिर्नु पर्ने शुल्क) र फ्युल सरचार्ज गरी तीन शीर्षकमा असुल्ने शुल्क नै हवाई भाडा हो ।
नयाँ कायम भएको भाडाअन्तर्गत काठमाडौंसँग सिधा उडान भएका पर्वतीय उडानमा ८ हजार ५ सय २५, पोखरा ४ हजार १०, भैरहवा ५हजार ३०, नेपालगञ्ज ७ हजार ५ सय ७५, विराटनगर ५ हजार ७ सय ५५, धनगढी १० हजार एक सय , भद्रपुर ७ हजार ३०, सिमरा २ हजार ५ सय ५, जनकपुर ३ हजार चार सय, भरतपुर २ हजार ९ सय २०, तुम्लिङ्गटार ४ हजार ७ सय १५ रुपैयाँ भाडा दर तोकिएको छ । हाल आन्तरिक रुटमा ८ वटा एयरलाइन्सका ३३ विमान उडानमा छन् ।
Post a Comment